Archive for June, 2010

युवा स्वरोजगारका लागि रकम वितरण

Thursday, June 24th, 2010

स्याङ्जा, ९ असार

नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम अर्न्तगत आर्थिक वर्ष २०६६/०६७ मा युवा स्वरोजगारका लागि प्राप्त रकम जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले एक कार्यक्रमका विचमा आज रकम वितरण गरेको छ। जिल्ला पशुसेवा कार्यालय मातहतमा रहेका सहकारी समूहको सिफारिस तथा छनौटका आधारमा निम्न आय र बेरोजगार भएका युवा युवतीहरुलाई रकम वितरण गरिएको हो। यसरी रकम प्राप्त गर्नेमा २१ महिला र ३३ पुरुष सहित कुल ५४ जना रहेका छन्। युवा स्वरोजगार कार्यक्रममा रकम प्राप्त गर्नेमा भेडापालनमा १ जनालाई २५ हजार, गाई भैसीपालनमा १७ जनालाई २४ हजार, मासु व्यवसायमा १ जना २२ हजार र बंगुर, कुखुरा तथा बाख्रा पालनमा ३५ जनालाई जनहि १९ हजार प्रदान गरिएको छ।
कार्यक्रम अनुसार पहिलो चरणमा कुल बजेटको ७५ प्रतिशत अर्थात ८ लाख ४० हजार वितरण गरिएको छ। कामका आधारमा २ लाख ८० हजारले हुन आउने बाँकी २५ प्रतिशत रकम केहिदिन भित्रमा वितरण गरिने जिल्ला पशुसेवा कार्यालयका मोतिप्रसाद लामिछानेले बताए।
रकम वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, पशुसेवा कार्यालयका प्रमुख दिपकुमार सिंह, गैरसरकारी महासंघका अध्यक्ष रामचन्द्र गौतम, डा. कल्याण श्रेष्ठ लगाएतका वक्तहरुले बोलेका थिए।

जलकुम्भीले ढाकियो फेवाताल

Tuesday, June 22nd, 2010

पोखरा, असार ९- एक साताअघि करिब दश ट्रक जलकुम्भी झार निकालिएको फेवातालमा अहिले फेरी जलकुम्भी भरिएको छ। जलकुम्भीले ढाकिएपछि अहिले तालको सतह हरियै देखिन थालेको छ।

समयमै जलकुम्भीको व्यवस्थापन गर्न नसक्दा ह्वात्तै फैलिएको डुंगा व्यवसायीले बताए। उनीहरुले हिउँदमा व्यवस्थापन गर्न सकेको भए वर्षामा यसरी फैलिने समस्या नरहने बताए।

‘फागुन-चैततिरै व्यवस्थापन गर्नुपर्ने हो, तर कसैले वास्ता गरेनन’ फेवा डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपालीले भने, ‘फूल बढ्दै जाँदा झार पनि मौलाउँदै गयो।’ ‘हिउँदमा निकालेर आगो लगाएर फूल नष्ट गरेको भए वर्षामा यसरी फैलिन पाउँदैनथ्यो’, उनले भने।

हिँउदमा तालको मुहान क्षेत्रतिर मात्र यो झार देखिने भएपनि अन्य भागमा पाईदैन। जलकुम्भीको एकै फूलमा सयौं बिउ हुने र पानीमा पर्नासाथ झार उम्रिँदै जाने गर्छ। यसअघि २०६५ को हिउँदमा जरा निकालेर आगो लगाईदा गतवर्ष फेवातालमा जलकुम्भीको समस्या देखिएको थिएन।

तालको सबैजसो भागमा अहिले जलकुम्भी झार खण्ड-खण्ड भएर थुप्रिएको छ। हावाको वहावले गर्दा सतहमा रहेको जलकुम्भी झार छिटोछिटो फैलिने गर्छ। दिउँसोमा पुर्वबाट चलेको हावाले झारलाई पश्चिमतिर लैजाने र बेलुकी पश्चिमबाट आएको हावाले पुर्वतिर फिजाँउने गर्छ। ‘एकै ठाँउमा जम्मा हुने हो भने निकाल्न पनि सजिलो हुन्थ्यो’ नेपालीले भने।
नेपालीका अनुसार फेवातालको माथिल्लो खण्ड कात्रेपुल, चंखपुर, पीपलडाली, भकुण्डे, वैद्यको घोलो लगायतका क्षेत्रमा हिउँदमा जलकुम्भी झार देखिन्छ।

स्थानीय विकास अधिकारी गुरु सुवेदीले तालका लागि जिविसले छुट्याएको रकम क्षेत्रफल बिस्तारको काममा लगाउँदा हिउँदमा व्यवस्थापन गर्न नसकेको बताए। ‘फेवातालको लागि जिविसले वर्षेनी छुट्याउँदै आएको बजेट यो वर्ष क्षेत्रफल बिस्तारमा खर्च गरियो’ सुवेदीले भने, ‘जसले गर्दा हिउँदमा निकाल्न पाइएन।’ उनले हिउँदमा व्यवस्थापन गर्न नसक्दा अहिले तालको सतह नै जलकुम्भीले भरिएको बताए। ‘तालमा पानीको सतह बढ्नुअघि व्यवस्थापन गरेको भए यो समस्या आउने थिएन’ सुवेदीले भने।

स्थानीय विकास अधिकारी सुवेदीका अनुसार कास्की जिविसले वर्षेनी १ लाख ८० हजार रुपैयाँ फेवा, रुपा र बेगनास तालको सरसफाईको लागि छुट्याउँदै आएको छ। अघिल्ला वर्षमा उक्त रकम ताल सरसफाईमा खर्चिएपनि यो वर्ष फेवाताल बिस्तारमा लगाइएको थियो। त्यसैगरी पोखरा उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डले पनि रकम दिँदै आएको छ। पर्यटन बोर्डको रकम समेत लेखनाथका तालमा खर्च गरिँदै आइएको सुवेदीले जानकारी दिए।

मंगलबार १५ ट्रक निकालियो
मंगलबार बिहान फेवातालबाट करिब १५ ट्रक जलकुम्भी झार निकालिएको छ। सेना, सशस्त्र र नेपाल प्रहरीका करिब १ सय ५० सुरक्षाकर्मिले उक्त परिमाणमा झार निकालेका हुन। अघिल्लो सोमबार करिब १० ट्रक झार निकालिएको थियो।
मंगलबार बिहान ४ घण्टाको अवधिमा करिब १५ ट्रक झार निकालेको प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले बताए। झार निकाल्न प्रजिअ कोईराला सहित स्थानीय विकास अधिकारी गुरु सुवेदी लगायत सुरक्षाकर्मि सहभागि थिए। ‘बिहानी हावाले झारलाई एकै ठाउँमा ल्याईदियो, जसले गर्दा केही सजिलो भयो’ कोईरालाले भने।

प्रजिअ कोईरालाले अबदेखि हरेक शुक्रबार बिहान फेवातालको झार निकाल्ने तालिका बनाएको बताए। ‘नियमित रुपमा ननिकाल्ने हो भने ताल कुरुप बन्दै जाने सम्भावना भयो’, उनले भने, ‘त्यसैले सबैलाई साथ लिएर सरसफाई गर्छौं।’ झार निकाल्नका लागि फेवा डुंगा व्यवसायीले निशुल्क डुंगा उपलब्ध गराएका थिए।

पर्यटन व्यवसायीको न्यून उपस्थिति
फेवातालमा जलकुम्भी झार फैलिएर हरियै भएपनि झार निकाल्ने काममा पर्यटन व्यवसायीको चाँसो कमै जाने गरेको छ। मंगलबार बिहान जलकुम्भी झार निकाल्न होटल संघ र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)का केही पदाधिकारी पुगेपनि अरु व्यवसायी उपस्थित थिएनन्।

‘सबैलाई खबर गरेका हौं, तर आएनन’ होटल संघका अध्यक्ष गोबिन्दराज पहारीले भने, ‘फेवाताललाई माया गर्ने भए आउनुपर्ने हो।’ उनले सबै व्यवसायी एकजुट हुने हो भने तालको झार निकाल्न समस्या नहुने बताए।

नगरिक न्युज डट कम बाट

स्याङ्जाको साँखरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा

Tuesday, June 22nd, 2010

स्याङ्जा, ८ असार

स्याङ्जाको दक्षिण भेग तनहुं र नवलपरासी जिल्लाको सिमानामा रहेको साँखर गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरीएको छ। गाउँलाई दिशामुक्त भएपछि स्थानिय बासिन्दामा खुसियाली छाएको छ। जिल्ला विकास समिति स्याङ्जाको अयोजना तथा पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाइ तथा स्वाथ्य कार्यक्रमको सहयोगमा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अर्न्तगत साँखर गाविसलाई जिल्लाको दोस्रो खुल्ला दिशा मुक्त गाविस घोषणा गरीएको हो। यस सेखाम गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको थियो।
खुल्ला दिशामुक्त गाउँ बिकास समिती घोषण गर्न साँखरमा ७ सय ८३ कच्ची र १ सय ८२ पक्की गरी १ हजार ५० चर्पी निर्माण गरिएका छ। अभियान पुर्व साँखरमा ८५ चर्पी रहेको गाउँ बिकास समिती सचिब राजुप्रसाद मरासिनी बताउनुभयो। स्थानियवासीले आफ्नै लगानीमा चर्पी बनाएका हुन्।
खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि यस वर्ष स्याङ्जाका ७ गाउँ बिकास समिती छनौट गरिएको छ। जिल्लाका एकैसाथ छनौट गरी कार्यक्रम लागु गरिएको गाविसमा चित्रेभज्याङ्, सेखाम, क्याक्मी, आलमदेवी, चण्डिभज्याङ्, केवरे र साँखर रहेका छन्। हाल दुई गाविसलाई दिशा मुक्त क्षेत्र घोषण गरिएपनि असार मसान्त भित्रमा बाँकी ५ गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिने ग्रामिण सरसफाई कार्यक्रमले लक्ष्य लिएको छ भने २०१७ साल भित्र स्याङ्जा जिल्लालाई खुल्ला दिशा मुक्त गर्ने भएको छ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा स्थानीय राजनितिक दल, कर्मचारी तथा सरोकारवालाहरुले स्याङ्जालाई नै खुल्ला दिसामुक्त क्षेत्र बनाई अधिराज्यमै यस जिल्लाका गाउलाई सफा राख्ने कसम खाएका छन्।
कार्यक्रममा स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेल तथा परियोजनाका प्रतिनिधिहरुको सक्रियतामा खुला दिशामुक्त क्षेत्र घोषणा गरीएको हो। कार्यक्रममा परियोजनाका तर्फबाट विशेषज्ञ अमृत राई, विभिन्न राजनितिक दलका प्रनिधिहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो। गाउँ विकास समितिका सचिव राजुप्रसाद मरासिनीको अध्यक्षतामा साँखर ८ मा भएको कार्यक्रम राधादामोदर उच्च माविको प्राङ्गणमा सम्पन्न भएको थियो।

दैनिकी डट कम बाट

आर्थिक अभावमा अस्पताल निर्माण अवरुद्ध

Monday, June 21st, 2010

स्याङ्जा, ७ असार

स्थानिय स्तरबाट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ मा रहेको हेलु बजार नजिकै निर्माधिन कालिका सामुदायिक शिक्षण अस्पताल बजेट अभाबका कारण निर्धारित समयमा सम्पन्न हुन सकेको छैन। २०६२ सालमा पुतलीबजार नगरपालिका–१३, स्थित आँधीखोला किनारमा स्थानिय स्तरमा सहयोग स्वरुप संकलन गरिएको रकमबाट १५ रोपनी जग्गा खरिद गरि निर्माण कार्य थालिएको सामुदायिक अस्पताल दाताहरुले कबोल गरेको रकम उठाउन नसक्दा निर्माण कार्य अबरुद्ध भएको हो। स्वास्थ्य सेवाबाट निक्कै पछाडि रहेको स्याङ्जाका बिरामी उपचारको लागी पोखरा, काठमाण्डौ तथा पाल्पा धाउन नपरोस भनेर स्थापना गरिएको उक्त अस्पताल १ सय सैयाको रहने छ।
२ करोडको भवन निर्माण र ३ करोडको सामाग्री खरिद गरिने भनेर अस्पताल निर्माण सुरु भएको मितिले २ बर्षमा सम्पन्न हुनुपर्ने भनिएता पनि अस्पतालको भवन निर्माणको क्रममा आर्थिक समस्या परेकोले ६ वर्ष हुदासम्म सम्पन्न हुन सकेको छैन्।
सरकारी निकाय र राजनीतिक दलहरुले कुनै सहयोग नगरेपनि आजिवन तथा स्थायी सदस्य बनाएर रकम संकलन गरि निर्माण शुरु गरिएको अस्पतालमा हालसम्म ३ ओटा भवन निर्माण सम्पन्न भैसकेका छन्। भवनहरु मध्ये अस्पताल, र डाक्टर आवास कोठा रहेका छन्।
दाताले कबोल गरेको सम्पूर्ण रकम उठ्न नसक्दा आर्थिक बर्ष ०६४ को अन्त्यमा निर्माण सम्पन्न गरि अस्पताल तथा नर्सिङ्ग कजेज सञ्चालनमा आइसक्ने थियो तर त्यसो हुन नसक्दा काम सम्पन्न गर्न आर्थिक वर्ष ०६६/०६७ को अन्त्य सम्ममा पनि सञ्चालनमा ल्याउन निक्कै कठीन भएको छ। दाताले कबोल गरे अनुसार हालसम्म करिव ६ करोड रकम संकलन हुनुपर्ने तर कबोल अनुसारको रकम मध्ये करिव ४ करोड मात्रै संकलन भएको छ।
आजिवन सदस्य हुन १ लाख भन्दा माथिको सहयोग र स्थायी सदस्य हुनका लागि १० हजार भन्दा माथिको सहयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म ३१ जना आजिवन र १ हजार १ सय ७८ जना स्थायी सदस्य रहेको अस्पतालका अध्यक्ष प्रेमनारायण अर्यालले बताए।
अस्पतालको अतिरिक्त सो सामुदायिक संस्थाले स्थानिय स्तरमै नर्सिङ् क्याम्पसको अध्ययनलाई समेत अगाडी बढाउने भएको छ। नर्सिङ् क्याम्पसमा स्टार्फ नर्स, हेल्थ असिस्टेन्ट, सी.एम.ए, ल्याव असिस्टेन्ट, र फार्मेसी विषयको अध्ययन गराउने लक्ष्य लिएका छ। नर्सिङ क्याम्पसको सञ्चालनपछि अस्पताललाई आवस्यक कर्मचारी समेत त्यहिँ उत्पादन हुने र जसले गर्दा स्थानिय सर्वसाधारणहरुले रोजगार प्राप्त गर्ने छन्।
अस्पताल भवन निर्माणको जिम्मा लिएको रसुवा कन्स्ट्रकसनका संचालक दुर्गानारायण श्रेष्ठको लापरबाहीले समयमै अस्पताल संचालनमा आउन नसकेको कालिका सामुदायिक अस्पतालका कोषाध्यक्ष चुडामणी अर्यालले बताए। उनका अनुसार, जिल्लाकै मध्यभागमा रहेको अस्पतालले जिल्लाका २ नगरपालिका र करिव ५० गाविसलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने छ।
नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा गरेको लगानी वालुवामा पानी हाले जस्तै भैरहेको अवस्थामा गाउँका जनताहरु जागरुक भएर स्थानिय स्तरमा रकम संकलन गरेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न खोज्नु सकारात्मक सन्देश भएको हो।
नेपाल सरकारले यस्ता कार्यक्रममा सहयोग गरेको खण्डमा कैयौँ गरीब नेपालीले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने थिए। अस्पतालको निर्माण सम्पन्न भएर सञ्चालनमा आएको खण्डमा अस्पतालबाट स्याङ्जा, पाल्पा, गुल्मी, तनहु, पर्वत लगायतका छिमेकी जिल्लाका लाखौं सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित हुनेछन्।

दैनिकी डट कम बाट

विश्वकप हेर्दै बाजी मार्दै

Wednesday, June 16th, 2010

स्याङ्जा-, अषाढ २ – विश्वकप फुडबल खेल चल्दै गर्दा कुन देशले जित्छ भनेर घर-घरमा बाजी मार्ने खेल सुरु भएको छ । एउटा टिम खेलेर सक्नासाथ अर्काको पालो नआउँदै जिल्लाबासी कुन देशको टिमले जित्छ भनेर बाजी ठोक्न थालेका हुन् ।

साथि साथिविच हुने बाजि मार्ने खेल अहिले आमाछोरी बावुछोरा र दिदिभाई दाजुबहिनी विच पनि हुन थालेको छ । घर घरमा टिभि भएपछि उनीहरु परिवारसँगै फुटवल खेल हेरेर बाजी थाप्न थालेका हुन् । यसरी बाजी थाप्ने चलनले खेलमा रौनकता थपेको टंक खनालले बताए । उनले भने ‘विरामी भएको छोरालाई समेत विश्वकप नहेरी हुदैन उसलाई आफ्नो रोगकोभन्दा बढि चिन्ता आफ्नो सर्मथकको खेलाडीको छ ।’

यसरी आफ्नो भन्दा बढि चिन्ता विश्वकप खेलको मान्ने विद्यार्थी छन् । ८ वर्षदेखि ८० वर्षसम्मका बृद्ध पनि अहिले खेलको बहसमा जुटेका छन् । बहस मात्र हैन उनीहरुले बाजी मार्ने र बाजीमा कपडा किनिदिने या पैसाको संम्झौता हुने गरेको नमिरा मियाले बताईन । साथिहरुविच भएको यस्ता बाजिमा भने सर्मथन गरेर हार्नेले पार्टी खुवाँउनु पर्ने नियम लागु भएको छ । यसपाला कहिल्यै फुटबल नहेर्ने गृहेणीलाई समेत खेलले छोएको गिता पोख्रेलले बताईन । उनले भनिन ‘छोरी कुन देशले जित्छ भनेर दुईटा टिमको अवसन दिन्छे नहेरी भएन ।’ छोरीले कुन टिमले जित्छ ममी भन्नु भनेपछि खेल नछुटाई हेरेकी छिन् । यसरी छोराछोरीलाई खुशी पार्न पनि खेल हेर्नेको संख्या बढ्दो छ । चोक, घर र कार्यलयमा समेत अहिले विश्वकपकै चर्चा भएको छ । यस्ता चर्चाका कारण धेरै ज्ञान हासिल गरेको पोख्रेलले बताईन । अरुको सामु लाजै हुने कारण पनि चाख नलाग्ने समेत खेल हेर्न थालेका छन् । सुचना र सञ्चारले विश्व नै सानो भईरहेको अवस्थामा सवै देशको गतीविधि र प्रगती थाहा पाउनु पर्ने उनको धारणा छ । खेल हेरेपछि  धेरै खेलाडी र देशको नाम समेतको चर्चा हुने गरेको उनले बताईन ।

यस्ता खेलमा धेरैको सर्मथन एसियाली देश जर्मन, कोरीया जस्ता टिमलाई हुने गरेको छ । ति देशका कपडा, विद्युतीय सामान प्रयोग गर्दै आएका ग्राहक खेलमा पनि कोरीया र जापान अगाडि पुगेछ भन्दै चर्चा गरीरहेका छन् । मंगोलियन अनुहार भएका यसियाली खेलाडी भएका कारण पनि साहानुभुतिको सर्मथन जापान र कोरियालाई भएको दर्शकले बताए ।

इ-कान्तिपुर डट कम बाट