‘माओवादीले नेतृत्व पाउन कठिन’

जेठ २, विराटनगर

ऊर्जामन्त्री प्रकाशशरण महतले माओवादीको एकोहोरो ढिपीमा सरकारले राजीनामा नदिने बताएका छन्। उनले राष्ट्रिय सहमतिमा नयाँ सरकार बने पनि माओवादीले नेतृत्व पाउन कठिन रहेको बताएका छन्। सत्ताप्राप्तिका लागि माओवादीले लिएको अडान नाजायज भएको उनले बताए।

‘माओवादीले हिंसाको मार्ग नत्यागेसम्म सत्ता हस्तान्तरण गर्न मिल्दैन’, प्रेस युनियन मोरङद्वारा विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘सरकारले के अपराध गरेको छ र माओवादीले भन्दैमा राजीनामा दिने?’

माओवादीको बाल हठका अगाडि झुक्न नसकिने पनि उनले बताए। माओवादीकै कारण समयमा संविधान नबनेको समेत उनले बताए। ‘संविधान बनाउने काम संविधानसभाको हो सरकारको होइन’, उनले भने, ‘यो सरकारले कसको के बिगारेको छ र माओवादीले भन्दैमा राजीनामा गर्नका लागि?’

कांग्रेसका शर्त बमोजिम लडाकु समायोजन, व्यवस्थापन, पुनःस्थापना, अर्धसैन्य संरचना भंग, कब्जा सम्पत्ति फिर्ता नगरेसम्म माओवादीको विश्वास गर्न नसकिने महतले बताए। ‘मुलुक लोकतान्त्रिक प्रक्रियामा गइसके पनि माओवादीका कारण भय र त्रासको वातावरण अन्त्य भएको छैन’, उनले भने। माओवादीको अर्धसैन्य संरचनाका कारण जनतामा मनोवैज्ञानिक त्रास कायम रहेको भन्दै मन्त्री महतले माओवादी धम्कीका आधारमा जनताले भनाइ फेर्नुपर्ने परिस्थिति भएको बताए। उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यताको खिलाप यहाँभन्दा के हुनसक्छ।’

नागरिक न्युज डट कमबाट

Leave a Reply