जिविस परिषद बिथोलियो, एलडिओ कक्षमा ताला

पर्वत, जेठ २१- सदरमुकामस्थित शिवालय ६, ७ र ८ का स्थानीयले सडक कालोपत्रेका लागि बजेट विनियोजन नगरेको भन्दै शुक्रबार आयोजित पर्वत जिल्ला परिषद नै बिथोलिदिएका छन। १२ बजे परिषद सुरु हुनै लाग्दा सयौंको सङ्ख्यामा आएर कार्यक्रमस्थल नै घेराउ गर्दै उनीहरुले परिषद बिथोलिदिएका हुन।

स्थानीय विकास अधिकारी नरहरि बराल, सभासद अर्जुनप्रसाद जोशीलगायत् राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिले कार्यक्रम सुचारु गराउनका लागि पहल गरे पनि उनीहरुले माग पूरा नभएसम्म परिषद सञ्चालन हुन नदिने बताएका छन्। अहिले जिल्ला परिषद स्थल पर्वत उद्योग वाणिज्य सङ्घको सभाहलमा उनीहरुले नारबाजी गरिरहेका छन्।

उनीहरुले जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी बरालको कार्यकक्ष र लेखा शाखामा तालबन्दीसमेत गरेका छन्। निर्धारित समयभन्दा झण्डै दुई महिना ढिला हुन लागेको जिल्ला परिषद आज पनि हुन नसक्ने अवस्था सृजना भएको स्थानीय विकास अधिकारी बरालले बताएका छन्।

उनीहरुले पुरानो बजार रहेको मूल सडक कालोपत्रे गर्ने सहमति नभएसम्म परिषद हुन नसक्ने बताएका छन्। ‘हाम्रो माग पूरा नभएसम्म हामी परिषद् चल्न दिनेवाला छैनौ’, स्थानीय महेन्द्रकुमार जोशीले भने– कालोपत्रेका लागि स्टिमेट भएको रकम विनियोजन गर्नैपर्छ। उनका अनुसार उक्त सडकका लागि झण्डै ३३ लाख रुपैयाँको स्टिमेट भएको छ।

यसैबीच उक्त सडकका लागि शिवालय गाविसले समेत बजेट विनियोजन नगरेको भन्दै गाविस सचिव रामचन्द्र अधिकारीलाई जिल्ला परिषद स्थलमा घेराउ गरेका थिए। उनीहरुले महिला र दलितलाई छुटयाइएको रकमसमेत सचिव अधिकारीले सीमित व्यक्तिलाई दिएको आरोप लगाएका थिए। पर्वत जिविसमा राजनीतिक पार्टीले आफ्नो मनोमानीरुपमा बजेट विनियोजन गर्दै आएका छन।

यसअघि नेपाल पत्रकार महासङ्घका अध्यक्ष ओमप्रसाद घायलको नेतृत्वमा गएको पत्रकार टोलीले स्थानीय विकास अधिकारीको ध्यानाकर्षण गराउँदै पत्रकार कोषका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेको थियो।

नगरिक न्युज डट कम बाट

Leave a Reply