कसैले हैसियत नभुलौँ : भट्टराई

काठमाडौ, जेठ २० – माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले संविधानसभा हैसियत सम्झिएर सहमतिमा आउन राजनीतिक दलसँग आग्रह गरेका छन्। ‘सबैले आफ्नो हैसियत सम्झेर सहमतिमा आए शान्तिप्रक्रिया छिट्टै टुंगिन्छ,’ भट्टराईले भने।

मानवअधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘वर्तमान सन्दर्भमा शान्तिप्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा देखिएका चुनौतीहरू’ विषयक अन्तर्क्रियामा भट्टराईले भने, ‘पुरानो घर भत्काएर नयाँ घर बनाउने मेसोमा ठूलो कोठा कसले लिने भन्ने अन्तर्द्वन्द्वले दलहरू ग्रस्त भएकाले सहमति टाढिएको हो।’

कसलाई कत्रो कोठा भन्ने भाग संविधानसभाको चुनावमार्फत जनताले छुट्टयाइसकेको उनले दाबी गरे। ‘पच्चीसै दल आफ्नो हैसियतमा बस्नुपर्छ’, भट्टराईले भने।

सहमतीय प्रणालीअनुसार नयाँ बाटोमा लागे मात्र शान्तिप्रक्रियाको टुंगो लाग्ने र संविधान बाँकी समयमा बन्ने उनले जिकिर गरे।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय संकल्पको घोषित उद्देश्य पूरा गर्न माओवादी हच्किएको आरोप लगाए। समयमा संविधान नबन्नुमा कांगे्रेसको कुनै गल्ती नभएको दाबी गर्दै उपसभापति पौडेलले भने, ‘अरू दलको कमजोरीको घानमा यसलाई हाल्न मिल्दैन।’

एमाले महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्रीको राजीनामाले मात्र निकास नदिने तर्क गरे। शान्तिप्रक्रियामा सबै दल साँच्चै प्रतिबद्ध छन् भने पहिले सैद्धान्तिक प्रतिबद्धता जनाएर त्यसको कार्यतालिका बनाई काम गर्नुपर्ने उनले सुझाए।

सबै दलले दलीय स्वार्थलाई केन्द्रमा राखेसम्म जनभावनाको कदर नहुने पोखरेलले दाबी गरे। ‘सरकार परिवर्तनभन्दा पनि सहमतीय प्रणालीमा आउनु महत्वपूर्ण हो,’ उनले भने, ‘सबै सहमतिमा आउनुपर्छ।’

नागरिक न्युज डट कम बाट

Leave a Reply