आलुको भकारी हेरेर छोरी दिने चलन

पर्वत, ४ जेठ

तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला। तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन्। जति धेरै आलु फलाउन सक्यो भोक्सङ्ग वासीले उति नै गतिली बुहारी भित्र्याउने गरेका छन्। सदरमुकाम कुस्माबजारबाट दक्षिणपूर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन्। भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ। ‘हामीले जति धेरै आलु फलायो उति नै गतिली बुहारी भित्रिन्छन् ‘कृषक रुद्रबहादुर क्षत्रीले भने।
जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन्। उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन्। यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ। छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने–’हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई।’
तीन दशक पहिलेसम्म व्यावसायिक रुपमा आलु उत्पादन नहुँदा मकै र कोदो प्रमुख बाली रहेको थियो। कोदो र मकैमात्र फल्ने भएकाले छोरी माग्न जाँदा विवाहका लागि धेरै अभिभावकले छोरी दिन नमान्ने गरेको अनुभव सुनाउँछन् कृषक रुद्रबहादुर क्षत्री।
‘आटो र ढिँडोमात्र खानेहरुलाई के छोरी दिने भनेर रित्तो हात धेरै फर्केका छन्’– कृषक क्षत्री भन्छन् – ‘अहिले आटो र ढिँडो खाने परिवार कमै मात्र छन्।’
भोकसिङ्गमा २०३५ सालपछि व्यावसायिकरूपमा आलु उत्पादन भएपछि ती दिन पूरै फेरिएका छन्। बीउका लागि आलु साट्न आउनेहरुले ल्याएको धान पनि छानेर लिन थालेका छन्। गुडुराजस्ता मीठो भात हुने चामल रोजीरोजी लिने गरेका छन्। ‘नराम्रो धान देखेमा आलु छैन भनेर फर्काउने गरेका छौँ’– अर्का कृषक केशनाथ उपाध्यायले भने।
भोकसिङ्गमा ‘आलु बुढा’ भनेर चिनिने ईन्द्रजित गुरुङले आफ्नो १६ दिनको खेतबारीमा पूरै आलु लगाएका छन्। उनले १६ मुरी त बीउ लगाउँछन् भने २०० मुरीभन्दा बढी आलु उत्पादन गर्दै आएका छन्। उनले आफूले उत्पादन गरेको आलु बिक्री नभएको देख्नु परेको छैन। ‘घरमै धान र नगद बोकेर आउनेहरुले पुर्‍याएरै सकिँदैन’– गुरुङले भने। आलु लिनका लागि पर्वतका २९ गाविस, बागलुङका चार गाविस र गुल्मीबाट समेत कृषक आउने गरेका छन्। जेठको अन्तिम सातादेखि आलु खन्ने र साउनदेखि नै बिक्री हुँदै आएको छ।
भोकसिङ्गमा आलु उत्पादन भएपछि यहाँको बीउ अन्यत्र पठाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान कोषको सहयोगमा स्थानीय संस्था सोर्डेक नेपालले बीज वृद्धि कार्यक्रमसमेत सुरु गरेको छ। यहाँको बीउलाई छिमेकी गाविसहरुमा पुर्‍याई व्यावसायिक बनाउने लक्ष्य लिएका छौँ’– सोर्डेक नेपालका सहसचिब मनबहादुर कुँवरले भन्नुभयो।

दैनिकी डट कम बाट

Leave a Reply