पसलमा आगालागी, २० लाख बराबरको धनमाल नष्ट

प्रदिप कोइराला
स्याङजा १२ फागुन ।

स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. ८ सतौस्थित एक घरमा आगलागी हुँदा करिब २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट सोही ठाँउका २६ वर्षिय साजन शाह सामान्य घाइते भएका छन् । उनी स्याङजा अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।

गएराती लोडसेडिङको समयमा बालेको मैनबत्ती विद्युत तारमा परेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्थानीय टिकाराम पौडेल र कमल पौडेलको संयुक्त घरमा आगलागी हुँदा २ तलाको १६ कोठे घरमा रहेका औषधी पसल, किनारा पसल र फेन्सी पसलमा रहेका सबै सामान जलेर नष्ट भएका छन् भने पसलमा रहेको २ लाख नगद समेत जलेर नष्ट भएको पिडीत टिकाराम पौडेलले जानकारी दिए ।

आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिब साढे दश बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Leave a Reply