एकिकृत माओवादी एकदलिय शासन प्रणलिमा विश्वास राख्ने पाटी :कोइराला

प्रदिप कोइराला
स्याङ्जा, ७ फागुन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले एकिकृत माओवादी एकदलिय शासन प्रणलिमा विश्वास राख्ने पार्टी भएको आरोप लगाउनुभएको छ  । उहाँले माओवादीले बहुदलीय शासन व्यवस्थाको नाममा सत्तामा प्रवेश गरि राज्य सत्ता कब्जा गर्ने र एकदलीय शासन व्यवस्था लगाउने प्रयत्न गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस स्याङ्जाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता नेता कोइरालाले उक्त कुरा बताउनुभएको हो ।

नेपालको नयाँ संविधान बन्न नदिन माओवादीले बिना अभ्यासको संघियताको नाउमा देशमा भएका हरेक जातजातीका मानिसहरुलाई जातीय अधिकारको नारा दिएर देशमा वितण्डा मच्चाई नेपालको संविधान जारी हुन नदिने प्रयत्न गरेको आरोप लगाउँदै कोइरालाले भन्नुभयो–‘त्यसैको बलमा एकदलीय निरङकुश शासन लाद्ने दुश्प्रयास माओवादीले गरेको छ ।’ नेपाली काँग्रेस आफ्नो अडानमा प्रतिबद्ध भएको बताउँदै कोइरालाले भन्नुभयो–‘राष्ट्रियता र प्रजातन्त्रप्रति काँग्रेस प्रतिवद्ध छ,प्रजातन्त्रमा हरेक नेपालीको हक,अधिकार बराबर हुनुपर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसकै अर्का केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले माओवादीले पेस गरेको संघियता हचुवाको भरमा भएको टिप्पणी गर्दै माओवादीको जातीय राज्यमा नेपालका आदिवासीहरु पनि सन्तुष्ट नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–‘विभिन्न जातीको नाममा राज्य दिँने भनेर जनतालाई गरेझैं पनि देखाउने तर केन्द्रीय तहमा नेतृत्व गर्नेनेताहरु भने प्रचण्ड र बाबुराम,मोहन बैद्य हुने,यसले पनि प्रश्ट पार्छ माओवादी जातीय राज्यमा कति इमान्दार छन् ।’

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा संविधान सभा सभाषद् गगन थापा,नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा, नेपाली काँग्रेस स्याङ्जाका सभापति खगेन्द्र रेग्मी लगायतले नेपाली काँग्रेस नेपाली जनताहरुको सिङ्गो पार्टी भएको उल्लेख गर्दै सवै जाती धर्म,लिङ्ग,वर्ग,आदिवासी जनजाती,महिला,दलित सबैको पार्टी भएकोले काँग्रेसलाई जातीय संघियता स्वीकार्य नहुने बताउनुभयो ।

आजै डा.कोइराला,गुरुङ, तथा युवा नेता थापा शनिबार स्याङ्जाको पञ्चमुलस्थित नेपालको पहिलो नमुना ग्रामिण पर्यटकीय गाउँ सिरुवारीमा आयोजना हुने आमसभामा भागलिन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

Leave a Reply