स्याङ्जा, २८ कार्त्तिक
साहित्यीक सृजनाको क्षेत्रमा क्रियाशिल सिर्जना विसौनी संस्था सयाङ्जाले साहित्यीक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने जिल्लाका ५ स्रष्टाहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ। विसौनीले सम्मान गर्ने साहित्यकारहरुमा केदार शर्मा ढकाल, देवीप्रसाद बनवासी, विश्वप्रेम अधिकारी, चिन्तु गिरि र देवेन्द्र लम्साल हुनुहुन्छ। सम्मानित श्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि डाक्टर कुशुमाकर न्पौपानले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो। साहित्य सिर्जना गहना हो, लुकाउने हैन फुकाउने गरौ भन्ने मुलनाराका साथ २०६२ सालमा स्थापित सिर्जना विसौनीको काव्य वाचन रजत श्रंखला तथा स्रष्टा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डाक्टर कुशुमाकर न्पौपानेले स्याङ्जालाई लोकसंस्कृतिको जन्मथलोको संज्ञा दिनु भयो। उहांले सम्मानित हुने साहित्यकारहरु नेपालकै उत्कृष्ट साहित्यीक अनुयायी भएको समेत दावी गर्नुभयो। त्यस अवसरमा पत्रकारिताको माध्यमबाट भाषा र साहित्यको क्षेत्रमा योगदान पुर्याए वापत रेडियो नेपाल स्याङ्जाका प्रतिनिधि प्रेमराज पौडेल तथा इमेज च्यानलका स्याङ्जा प्रतिनिधि पत्रकार प्रकाश डोटेललाई पनि प्रशंसापत्र सहित सम्मान गरिएको थियो। विसौनीलाई संस्थागत सहयोग गर्ने जिल्ला विकास समिति, पुतलीबजार नगरपालिका कार्यालय, स्याङ्जा कला केन्द्र, रेयुकाई र रोशनी आवासिय उच्च माध्यामिक विद्यालयलाइ, प्रशंसापत्र प्रदान गरिएको थियो। विसौनीको रजत श्रंखलाका अवसरमा टंकप्रसाद पौडेल, लेखनाथ काफ्ले, रविन के.सी., अनन्तकुमार श्रेष्ठ, बलराम दोरङ्गा, विश्व पौडेल, लिलाम्बर ढुङ्गाना, सुन्दर मानन्धर, कल्पना सुवेदी अनिता लामा लगाएतले गित, गजल तथा रचनाहरु वाचन गर्नुभएको थियो। त्यसैगरि श्रंखलाको रचना वाचनमा कमल पौडेल अथक, सूर्यप्रकाश मल्ल सुवाष, रुपेन्द्र प्रभावि कटु, संगिता ढुङ्गेल घिमिरे, लोकराज रेग्मी, बाबुराम सिग्देल, सुरज उपाध्याय, कृत्रिम स्याङ्जाली, कृशान गुरुङ्, भरतराज पौडेल, बसन्त रिसाल लगाएत साहित्य अनुरागीहरुले आफ्नो सृजना प्रस्तुत गर्नु भएको थियो। सिर्जना विसौनी स्याङ्जाका अध्यक्ष महेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन साहित्यानुरागी भिष्मराज ढुङ्गेलले गर्नुभएको थियो। रचना वाचनका क्रममा स्याङ्जा कला केन्द्रका कलाकारहरुले विभिन्न गितहरु गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो।
दैनिकी डट कम बाट



