युवकको कुटेर हत्या, किशोरीको शव भेटियो

दशैंका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गरेकै दिन राजधानीमा एक युवकको कुटीकुटी हत्या गरिएको छ।
शुक्रबार राति करिब ११ बजे ललितपुरको इमाडोलस्थित घरतर्फजाँदै गर्दा ३३ वर्षीय अरुण महर्जनलाई ९ जना युवकले ढुंगाले कुटीकुटी हत्या गरेका थिए। पञ्चकन्या ग्रुपको चालक महर्जन पुल्चोकबाट साइकल चढी घरतर्फजाँदै गरेका थिए। ग्वार्को पुलनजिक पुगेपछि एक युवकलाई साइकलले ठक्कर दिएपछि उनीमाथि कुटपिट शुरु गरेका थिए।

एकाएक ९ जना युवकले साइकलको चेन र ढुंगाले कुटपिट गरेपछि घाइते भएका उनको मध्यरातमा पाटन अस्पतालमा मृत्यु भएको थियो। कुनै रिसइबी नभएका अरुण महर्जनलाई टाउकोमा बीभत्स रूपमा ढुंगा प्रहार गरेका थिए। उनको टाउको नराम्ररी फुटी गिदी निस्किएको अवस्थामा अस्पताल पुर्याइएको थियो।

घटना भएको एक घण्टापछि घटनास्थलमा पुगेको प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक रेशमबहादुर पराजुलीको टोलीले मुख्य अभियुक्त दिलन महर्जनलगायत ३ जना युवकलाई रगत लत्पतिएको हातसहित पक्राउ गरेको थियो।

मादक पदार्थ सेवन गरेका ती युवक भाग्दै गरेको अवस्थामा ग्वार्कोमा पक्राउ गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै ललितपुर प्रहरी परिसर प्रमुख केदारमान सिंह भण्डारीले हत्याको अभियोगमा ९ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो।

यसै गरी काठमाडौं महानगरपालिका-१५ डल्लु आवास क्षेत्रको नजिक गीतामाता स्कुलनजिकको झाडीमा बलात्कारपछि जबरजस्ती हत्या गरेका अवस्थामा १३ वषीर्या बालिकाको शव फेला परेको छ।

सिन्धुली घर भई हाल कामपा-१५ डल्लु डेरा गरी बस्ने माइला माझीकी १३ वषीर्या छोरी सूष्मा माझीको हत्या भएको हो। सो घटनाका मुख्य दोषी १५ वर्षीय बालक रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी वसन्तबहादुर कुँवरले मुख्य अभियुक्तलाई चितवनमा पक्राउ गरिएको जानकारी गराउनुभयो।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २२ वषीर्या राजेश महर्जनसमेतलाई पक्राउ गरेको छ।

नेपाल समाचारपत्र बाट

Leave a Reply