सिद्धार्थ राजमार्गमा अवरुद्ध यातायात संचालन

पोखरा, २३ भदौ

सिद्धार्थ राजमार्गमा मंगलबार मध्याह्नदेखि आह्वान गरिएको चक्काजाम माओवादी स्याङ्जाले फिर्ता लिएको छ। मन्त्रीलाई कालोझण्डा देखाउने क्रममा स्याङ्जा सदरमुकाम पुतलीबजारमा प्रहरीको लाठीचार्जबाट आफ्ना कार्यकर्ता घाइते भएपछि घटनाको बिरोधमा आह्वान गरिएको चक्काजाम सर्वसाधारणको हितमा ध्यानमा राख्दै अपरान्ह ४ बजेदेखि फिर्ता लिइएको जनाइएको छ।
मन्त्री पोखरेल रेडियोको उद्घाटन र नेकपा एमाले स्याङजा क्षेत्रनम्बर १ को क्षेत्रीय अधिवेसनमा सरिक भएर पोखरा विमानस्थलबाट दिउँसो साढे ३ बजे बुद्ध एयरबाट राजधानी उडेका छन्। प्रहरीको स्कर्टिङ्मा पुतलीबजारबाट पोखरा आउँदासमेत मन्त्री पोखरेलले ठाउँठाउँमा अबरोधको सामना गर्नुपर्यो। फेदिखोलामा जिल्ला विकास समिति, स्याङजाको सरकारी गाडी तेर्साएर यातायात अबरुद्ध पारेका माओवादी कार्यकर्तालाई प्रहरीले पुनः सामान्य लाठीचार्ज गरी भगाएको थियो।
यसअघि, मन्त्री पोखरेललाई मंगलबार बिहान पोखराको लेकसाइडमा माओवादी कार्यकर्ताले कालोझण्डा देखाएका थिए।

दैनिकी डट कम बाट

Leave a Reply