स्याङ्जाको कफी जर्मनी, जापान र अमेरिका निकासी

स्याङ्जा, १० असार

स्याङ्जामा उत्पादीत कफी जर्मनी, जापान र अमेरिका निकासी हुने भएको छ। रासानिक मल विना स्थानिय श्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकोले नेपालबाट वर्षिनी कफी निर्यात बृद्धि हुदै गएको छ। चालु वर्षदेखि जिल्ला कफी व्यवसायी संघको पहलमा गठित जिल्ला कफी सहकारी मार्फत पहिलो पटक त्यी देशमा कफी निर्यात गर्न लागेको हो। विगतका वर्षमा यहाँ उत्पादीत कफी अमेरिका, जापान, कोरिया र हल्याण्डमा निर्यात हुदै आएको थियो।
जिल्लामा ८२ कफी उत्पादक समूह र ७ वटा कफी उत्पादक सहकारी सस्था लिमिटेड रहेका छन्। समूह र सहकारी संस्था मार्फत उत्पादीत कफी जिल्ला कफी सहकारी मार्फत पहिलो पटक निर्यात गर्न थालिएको हो। यसअघि हाइल्याण्ड कफी कम्पनी काठमाडौं, एभरेष्ट कफी मिल पाँचखाल काभ्रे, प्लानटेक कफी कम्पनी काठमाडौं मार्फत यहाँका कफी विदेश निर्यात हुदै आएको थियो।
चालु वर्ष स्याङ्जाबाट ड्राई पार्चमेन्ट कफी ५५ टन र ड्राई चेरी कफी ५ टन विदेश निर्यात हुने भएको छ। जिल्ला कफी व्यवसायी समितिको पहलमा ड्राई पार्चमेन्ट प्रतिकिलो १ सय ५५ रुपयाँ निधारण गरिएको छ भने ड्राई चेरीको लागि ४० रुपयाँ प्रतिकिलो तय गरिएको छ।
जिल्लाबाट २०६६ मा ड्राई पार्चमेन्ट ४५ टन र ड्राई चेरी ५ टन कफी विदेश निर्यात भएको थियो। जिल्लामा हालसम्म करिव ४ हजार ५ सय परिवार कफी खेतीमा संलग्न रहेको जिल्ला कफी व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले बताए। उनका अनुसार, संघमा हालसम्म २ हजार ५ सय परिवार प्रत्यक्ष रुपमा आवद्ध भएका छन्।
जिल्लाका २ नगरपालिका र ६० गाउं विकास समिति मध्ये पुतलीबजार र वालिङ् नगरपालिका सहित २९ गाउं विकास समितिमा स्थानिय कृषकहरुले व्यवसायीक रुपमै कफी खेती गर्दै आएका छन्। स्याङ्जामा २ सय १५ हेक्टर जमिनमा कफी खेती गरिएको छ।
जिल्लामा कुल उत्पादीत कफी मध्ये ३० प्रतिशत आन्तरिक खपत र ७० प्रतिशत विदेश निर्यात हुदै आएको छ। गत वर्षको तुलनामा यस वर्ष कफी खेती र उत्पादनमा करिव २० प्रतिशतले बढेको छ। हालसम्म जिल्लामा करिव ४ लाख कफी विरुवा रोपण गरिएको छ।
उत्पादनमा पनि सहज र बजारको सुनिश्चित भएपछि कृषकहरु कफी खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाएका छन्। कफी खेतीबाट जिल्लाका सानादेखि ठूला कृषकहरु मनग्य आम्दानी गर्न समेत सफल भएका छन्।
कफी खेतीबाट वर्षमा मात्रै करिव ५ लाखको हाराहारीमा आम्दानी गर्न आफू सफल भएको पुतलीबजार नगरपालिका– १३, मायाटारीका बोधराज अर्यालले बताए। कृषक अर्यालले लामो समयदेखि कफी, सुन्तला खेती गर्दै आएका छन्। व्यक्तिगत रुपमा अर्यालले ५० रोपनी जग्गामा कफी र सुन्तला खेती गरेका छन्।
जिल्लाका कृषकले यस वर्ष कफी विक्रीबाट करिव १ करोड ५० लाख आम्दानी गर्ने छन्। गत वर्षमात्रै कृषकहरुले करिव १ करोड आम्दानी गर्न सफल भएका थिए। जिल्लामा हाल २८ वटा पलपिङ् केन्द्र रहेका छन्।
बढि मात्रामा कफी उत्पादन गर्ने विभिन्न जिल्ला मध्ये ललितपुरपछि स्याङ्जालाई लिने गरिएको छ। विशेष गरि ठूला ठूला रुख भएका क्षेत्रमा समेत कफीको विरुवा लगाउन सकिने भएकाले कफीलाई पाउना खेतीका रुपमा लिईने गरिएको छ। जिल्लामा करिव २ सय सुन्तलाको बगैचा रहेका छन्। सुन्तलाका हरेक बगैचामा कफी खेती गरिएको छ।
स्याङ्जामा करिव २ वर्ष भित्रमा करिव १० करोडको कफी निर्यात गर्न सफल हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताए। अधिकारीका अनुसार स्याङ्जाको भौगोलिक बनावट र वातावरण कफी खेतीको लागि अति उत्तम रहेको छ।
विगत एक दर्शक देखि स्याङ्जामा कफी खेतीबाट यहाँका कृषकहरु मनग्य आम्दानी गर्न सफल भएका छन्। जिल्लामा व्यवसायीक रुपमा कफी खेती गर्न थालेपछि नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको साझेदारीमा लागु भएको कार्यक्रम एक गाउँ एक उत्पादनका अर्न्तगत स्याङ्जा कफी खेतीमा छनौट भएको छ।
एक गाउँ एक उत्पादन कार्यक्रम जिल्लाको बहाकोट र अर्जुनचौपारी गाउँ विकास समितिमा परियोजना संचालन भएको छ। त्यस क्षेत्रमा मात्रै ३ वर्षभित्रमा १ हजार रोपनी जग्गामा करिव ५ लाख कफीका विरुवा रोपण गर्ने लक्ष्य राखिएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्सालले बताए। उनका अनुसार बजेटको थप व्यवस्था भएमा कफीमा कृषकहरुको आवद्धता बढने छ।
स्याङ्जामा छनौट गरिएको कफि खेतिबाट जिल्लाका कृषकहरु मनग्य आम्दानी गर्न थालेका छन्। बैदेशिक रोजगारमा यहा“का युवाहरु विदेश तर्फ भौतारिए पनि मेहनत गरेमा यहि माटोमा समेत लाखौ आम्दानी गर्न सफल हुन्छ भन्ने यहा“का कृषकहरुले दजनौ उदाहरण समेत प्रस्तुत गरेका छन्।

दैनिकी डट कम बाट

Leave a Reply