Archive for May, 2010

‘माओवादीले नेतृत्व पाउन कठिन’

Sunday, May 16th, 2010

जेठ २, विराटनगर

ऊर्जामन्त्री प्रकाशशरण महतले माओवादीको एकोहोरो ढिपीमा सरकारले राजीनामा नदिने बताएका छन्। उनले राष्ट्रिय सहमतिमा नयाँ सरकार बने पनि माओवादीले नेतृत्व पाउन कठिन रहेको बताएका छन्। सत्ताप्राप्तिका लागि माओवादीले लिएको अडान नाजायज भएको उनले बताए।

‘माओवादीले हिंसाको मार्ग नत्यागेसम्म सत्ता हस्तान्तरण गर्न मिल्दैन’, प्रेस युनियन मोरङद्वारा विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतले भने, ‘सरकारले के अपराध गरेको छ र माओवादीले भन्दैमा राजीनामा दिने?’

माओवादीको बाल हठका अगाडि झुक्न नसकिने पनि उनले बताए। माओवादीकै कारण समयमा संविधान नबनेको समेत उनले बताए। ‘संविधान बनाउने काम संविधानसभाको हो सरकारको होइन’, उनले भने, ‘यो सरकारले कसको के बिगारेको छ र माओवादीले भन्दैमा राजीनामा गर्नका लागि?’

कांग्रेसका शर्त बमोजिम लडाकु समायोजन, व्यवस्थापन, पुनःस्थापना, अर्धसैन्य संरचना भंग, कब्जा सम्पत्ति फिर्ता नगरेसम्म माओवादीको विश्वास गर्न नसकिने महतले बताए। ‘मुलुक लोकतान्त्रिक प्रक्रियामा गइसके पनि माओवादीका कारण भय र त्रासको वातावरण अन्त्य भएको छैन’, उनले भने। माओवादीको अर्धसैन्य संरचनाका कारण जनतामा मनोवैज्ञानिक त्रास कायम रहेको भन्दै मन्त्री महतले माओवादी धम्कीका आधारमा जनताले भनाइ फेर्नुपर्ने परिस्थिति भएको बताए। उनले भने, ‘लोकतान्त्रिक मूल्य मान्यताको खिलाप यहाँभन्दा के हुनसक्छ।’

नागरिक न्युज डट कमबाट

ट्याङकरको ठक्करबाट एकको मृत्यु

Sunday, May 16th, 2010

जेठ २, तनहुँ

दुध लिन पोखराबाट आँबुखैरेनीतर्फ जादैँ गरेको ग.१.क. १४१० नम्बरको दुध ट्याङकरले ठक्कर दिदाँ शनिवार राती तनहुँको आँबु-३, मार्कीचोकका ४५ वर्षीयसन्त बहादुर अधिकारीको मृत्यु भएको छ।

पृथ्वी राजमार्ग अर्न्तगत आँबु-डुम्रे सडक खण्डको मार्कीचोकमा पैदल यात्रा गरिरहदाँ ट्याङकरको ठक्करवाट घाइते भएका अधिकारीलाई उपचारका लागि डुम्रे स्थित लक्ष्मी अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ठक्करपछि ट्याङकर पल्टिदाँ ट्याङकरमा यात्रारत ४ जना घाइते भएका छन्। घाइते सबैको आँबुखैरेनी स्थित स्थानीय मेडिकलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय, आँबुले जनाएको छ।
घटनाको विषयलाई लिएर स्थानीय बासिन्दाले अबरुद्ध पारेको पृथ्वी राजमार्ग प्रहरीले बल प्रयोग गरेर एक घण्टापछि खुलाएका थिए।

नागरिक न्युज डट कमबाट

‘माओवादी सामु आत्मसमर्पण गर्दिन’/ बाघ को रहेछ कामले देखाउछः नेपाल

Saturday, May 15th, 2010

काठमाडौ, जेष्ठ १ – प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको ‘दम्भ’ र ‘धम्की’ अघि ‘आत्मसपर्ण’ नगर्ने बताउदै बिगतको प्रतिबद्धता र कबुल  पालना नगरेसम्म उ सँग सहमति नहुने बताएका छन् ।

‘माओवादीको उधारो प्रतिबद्धतालाई कोही पत्याउनेवाला छैन’ एमाले सम्बद्ध युवा संघको स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘माओवादीको धम्की र दम्भ अघि किमार्थ म लत्रिन्न र आत्मसमपर्ण गर्दिन पनि’ । राष्ट्रिय सहमतिको नाममा माओवादीको शर्त स्विकार गर्न नसकिने उनको भनाइ थियो । उनले सहमतिको लागि आफू पनि त्याग गर्न तयार रहेको भन्दै माओवादीले पनि त्याग गरेर देखाउनुपर्ने बताए ।

संसदका ३ सय ३० सभासद भएको दलहरुले आफूलाई सहमतिको पर्याय भन्दै विश्वास गरेको सुनाउदै उनले आफूले राजिनामा नगर्ने बताए ।

‘किन राजिनामा दिने । मैले अपराध र असंवैधानिक काम गरेको छु र’ उनले भने ‘देशको निम्ति काम गर्दा किन घुँडा टेक्ने ।’ माओवादीप्रति आक्रमक रुपमा प्रस्तुत भएका उनले सैन्य संरचनाकै कारण माओवादीमा ‘दम्भ’ बढेको भन्दै घोचपेच र अपमानको भाषा प्रयोग नगर्न चेतावनी दिए । शान्ति र संविधानको टुंगो लागे राष्ट्रिय सहमतिको सरकारको पनि टुंगो लाग्ने बताउदै उनले माओवादी सेनाको व्यवस्थापन, वाईसीएलको अर्द्ध सैन्य संरचनाको अन्त्य लगायत शान्तिसँग जोडिएका बिषयहरुको पहिले छिनोफानो हुनुपर्ने बताए ।

संविधानसभाको म्याद थप गर्ने बिषय र यसको भविष्यप्रति जनतामा चिन्ता बढेपनि माओवादीले राजिनामाको शर्त राखेकोमा आक्रोस पोख्दै उनले त्यस्तो शर्त मान्य नहुने भनाइ राखे ।

माओवादीले हड्ताल फिर्ता लिएको भन्दै सहमतिको लागि सरकारलाई राजिनामाको दवाव दिनेहरुप्रति पनि उनले असन्तुष्टि जनाए । माओवादीले हड्ताल पनि कुर्सी र सत्ताको लागि गरेको र फिर्ता पनि सोही उदेश्य पूरा गर्न गरेकाले त्यसले सरकारलाई कुनै नैतिक दवाव नपारेको बताए ।

को बाघ र को स्याल कामले देखाउछ

माओवादीले आफूलाई बाघ र अरुलाई स्याल भनि बिष्लेषण गर्ने गरेको भन्दै नेपालले कामले स्याल र बाघ प्रमाणित गरिसकेको बताए ।

‘उनीहरु आफूलाई बाघ र अरुलाई स्याल भन्छन । तर कामले नै देखाइसकेको छ , को बाघ र को स्याल रहेछ भनेर’, उनले भने, ‘जिव्रो साइजमा राख्नुस । अरुलाई घोचपेच र अपमान नगर्नुस, शालीन बन्नुस ।’ उनले माओवादीको यस्तो कार्यले उ एक्लिदै गएको भन्दै पोलपोटको ब्यबहारले माओवादीले अन्तिम अवस्थामा ‘दुई थोपा आँसु बगाउने’ एकजना सम्म पाउन नसक्ने दाबी गरे ।

उनले माओवादीले भन्ने गरेजस्तो विदेशी रिमोट कन्ट्रोलबाट नभइ सरकार संसदकै रिमोट कन्ट्रोलबाट संचालित भएको दाबी गरे । उनले भने, ‘२५ दल र जनताको हातमा रिमोट कन्ट्रोल छ । माओवादीको वरिपरि घुम्ने मात्र नेपाली जनता हुन र ।’ उनले एमालेभित्रबाट सरकारको आचोलना गर्नेहरुप्रति असन्तुष्टि जनाउदै  एमाले कार्यकर्ताले एमालेको हितमा बोल्नुपर्ने धारणा राखे ।

इ-कान्तिपुर डट कम बाट

प्रधानमन्त्रीको राजिनामा हामीले नै रोक्यौः कोइराला

Saturday, May 15th, 2010

पर्सा , जेष्ठ १ – उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई आफूहरुले नै राजिनामाको लागि हतार नगर्न सुझाव दिएको बताएकी छन् । सहमतीय सरकार बने आफू बाधक नबन्ने भनेर प्रधानमन्त्रीले राजिनामा दिने संकेत दिए पनि आफूहरुले  राजिनामा दिन हतार नगर्न सुझाव दिएको  उनले  बताएकी हुन् । उनले पहिले माओवादी सच्चिएर आए मात्र सहमतीय सरकार बनाउन प्रधानमन्त्री नेपालले राजिनामा दिने बताइन् । त्यस्तो सहमतीय सरकारले संविधान बनाउने, संसदीय चुनाव गराउने, नयाँ नेपालको निर्माण गर्ने लगायतका काम गर्ने उनले बताइन् ।

माओवादीको भनाई र गराईमा फरक रहेकाले उसको कुरामा विश्वास नरहेको उनले बताइन । शनिबार वीरगंजमा आयोजित २० औं शिक्षक संघ दिवशलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले भनिन् ‘हामीले माओवादीलाई धेरै राम्ररी चिनी सकेका छौं । उनीहरुको कुरामा हामीलाई विश्वास छैन, (भित्र) एउटा कुरा गर्छन, अर्को कुरा बाहिर गएर बोल्छन्’ ।

ढिलै भए पनि माओवादी शान्ति प्रकृयामा आउनेमा आफू बिश्वस्त रहेको बताउदै  कोइरालाले हाल माओवादीले अलिकति लचिलो भएर आउने संकेत दिए पनि आफूले माओवादी उपर धेरै विश्वास भने नगरेको बताइन् । उनले माओवादीले एउटा लडाकु शिविर खाली गरेर दुई वटा अर्को शिविर थप्ने कुरा गरेर फेरी अर्को विवाद थप्ने काम मात्र गरीरहेको आरोप लगाइन् ।

कोइरालाले माओवादीले अन्य दलको विश्वास जित्न सबैभन्दा पहिले आफ्ना लडाकु शिविर खाली गर्नु पर्ने, हतियार बिसाउनु पर्ने, माओवादी लडाकुको पुनस्थापना तथा समायोजन गर्न सहयोग गर्नु पर्ने बताइन् । माओवादीले यी मुख्य काम नगरेसम्म उसलाई सरकारको नेतृत्व गर्न दिन नहुने पनि उनले बताइन् । माओवादीको हातमा हतियार रहुन्जेल त्यही हतियारको बलमा अस्थिरता ल्याई राख्ने आरोप लगाउदै कोइरालाले यस्तो अवस्थामा कुनै पनि किसिमको सरकार पनि टिक्न नसक्ने बताइन् ।

उनले भनिन् ‘माओवादीले नेपाली जनता र बुद्धिजीविलाई विश्वास दिलाउनु पर्छ, हामी अब शान्ति स्थापनाको लागि काम गर्छौ, हतियार बिसाउछौं, हिंसा बन्द गर्छौ, लुटपाट गर्दैनौ भनेर’ ।     बर्तमान सरकारको पहिलो प्राथमिकता शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउनु रहेको पनि उनले बताइन् ।

इ-कान्तिपुर डट कम बाट

कुचो उद्योगमा आगलागी, ३५ लाखको क्षति

Monday, May 10th, 2010

झापा, वैशाख २७

धुलाबारी स्थित एउटा कुचो उद्योगमा आइतवार राती आगलागी हुँदा लाखौं मुल्यको कुचो जलेर नष्ट भएको छ। रञ्जिता कुचो उद्योगमा भएको आगलागीबाट ३५ लाख बराबरको क्षती भएको प्रोप्राइटर किशन शाहले बताए।

उनका अनुसार राती एघार बजे शुरु भएको आगलागी विहान पाँच बजे मात्रै नियन्त्रणमा आएको थियो। भद्रपुर नगरपालिकाको दमकल र स्थानीयवासीले आगो निभाएका थिए। भारत निर्यात गर्न तयारी अवस्थामा राखिएको कुचोमा नियोजित रुपमा आगो लगाइएको हुनसक्ने प्रोप्राइटर शाहले आशंका गरेका छन्। तर कसले लगायो भन्नेचाहिँ उनले खुलाएनन्।