Archive for May, 2010

असी रुपैयाँ महसुल तिर्न तीन हजार खर्च

Thursday, May 20th, 2010

पर्वत, ६ जेठ

दुर्गम गाउँका बासिन्दा विद्युत्को सुविधा पाए पनि महसुल तिर्नका लागि हजारौं खर्च बाध्य छन्। गाउँमा महसुल तिर्ने व्यवस्था नहुँदा हजारौं खर्चेर सदरमुकाममा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा आउनुपरेको हो। दक्षिण पर्वतको टकलाक गाविसका बासिन्दा यस्तो समस्यामा परेका हुन्। गाविसका करिब १५० घरपरिवारलाई विद्युत् महसुल बुझाउन सदरमुकाम आउनुपर्ने बाध्यता छ। सदरमुकाम कुस्माबजारबाट दुई दिनको पैदल दूरी तथा एक दिनको गाडीको यात्रामा पुगिने टकलाक गाविसका सर्वसाधारणले गाउँमै मोबाइल काउन्टर सञ्चालन गर्न माग गरेका छन्। टकलाकसँगै दक्षिणी शालिग्राम, कुर्घा, लुङ्खुदेउराली, बालाकोटलगायतका गाविसवासी हजारौँ रुपैया खर्चेर महसुल बुझाउनका लागि सदरमुकाम आउने गरेका छन्।
छिमेकी स्याङ्जा र पर्वतमा पर्ने कालीगण्डकी ए जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत् उपभोग गर्दै आएका टकलाक १, २ र ४ वडाका वासिन्दाले भने आलोपालो प्रणाली लागु गर्ने गरेका छन्। यी वडामा बसोवास गर्ने १३५ घरधुरीले सामाजिकरुपमा मेलमिलापको वातावरण सिर्जना गरी सहकार्यमा महसुल भुक्तानी गर्दै आएका छन्।
उनीहरु अनावश्यक खर्च रोक्न आलोपालो गरेर महसुल बुझाउन सदरमुकाममा रहेको प्राधिकरण कार्यालयमा आउने गरेका छन्। आफूलाई स्याङ्जामा बुझाउन सहज हुने भए पनि पर्वत सदरमुकाममा नै आउन बाध्य भएको स्थानीय तारा न्यौपानेले बताउनुभयो। एकपटक सदरमुकाम पुगेर आउँदा रु तीन हजारभन्दा बढी खर्च हुन्छ निकै समस्यामा परियो– न्यौपानेले भन्नुभयो।
प्राधिकरण पर्वत शाखाले दक्षिणी गाविसका लागि छुट्टै व्यवस्था गर्ने आश्वासन दिएको छ। स्थानीय उपभोक्ता र गाविससमक्ष निवेदन मागेको र निवेदन परेमा स्याङ्जा जिल्लाबाट महसुल तिर्ने व्यवस्था मिलाउन सकिने निमित्त कार्यालय प्रमुख निर्मलकुमार कार्कीले जानकारी दिनुभयो। ‘गाउँलेले चासो दिएर लाग्ने हो भने सुविधा पनि पाउनेछन्’– उहाँले भन्नुभयो।

रासस

टेलिकमको सेवामा शुल्क कटौति

Thursday, May 20th, 2010

काठमाडौ, जेष्ठ ६ – नेपाल टेलिकमले दिँदै आएको दूरसञ्चार सेवालाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउनका लागि विभिन्न सेवामा लाग्ने शुल्क कटौति गरेको छ ।

नेपाल टेलिकमद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक अमरनाथ सिंहले ग्राहकलाई र्सवसुलभरुपमा कम्पनीका अत्याधुनिक सुविधाहरु उपभोग गर्न सहज हुने अपेक्षासहित विभिन्न सेवाहरुमा लाग्दै आएको सेवा शुल्क कटौति गरिएको जानकारी दिए ।

टेलिकमले पछिल्लो समयमा ल्याएको थ्रिजी पोष्टपेड मोवाइल सेवामा लाग्दै आएको ग्राहक सेवा शुल्क रू.चार हजार १३० लाई घटाएर रू. दुइ हजार १३० कायम गरेको छ भने थ्रिजी प्रिपेड मोवाइलमा लाग्दै आएको शुल्क रू.दुइहजार ५००मा घटाएर रू.एक हजार ५०० कायम गरिएको जनाएको छ ।

दुवै सेवामा ग्राहकले रू. एकहजार बरावरको कुरा गर्न पाउने ब्यवस्था गरिएको छ भने थ्रिजी पोष्टपेड जिएसएम मोवाइल सेवाको प्रवर्द्धनका लागि नयाँ ग्राहकले १०० एमबी बराबरको जिपिआरएस इन्टरनेट सेवा निःशुल्क पाउने ब्यवस्था गरिएको छ ।

यसैगरी कम्पनीको जिएसएम तथा सिडिएमएको सिम र रिमकार्डको खरिदमा लाग्दै आएको रू. ६५६ शुल्क घटाएर रू.२५० भ्याटसहित कायम गरिएको छ । यि सेवाका लागि गरिएको नयाँ ब्यवस्था यही जेठ १० गतेदेखि लागु हुने जनाइएको छ ।

कम्पनीले विद्यमान अनलिमिटेड प्याकेजका ग्राहकको अवधि समाप्त भएपछि पुनः सेवा लिँदा दर्ता शुल्क नलाग्ने, अनलिमिटेड प्याकेजसम्बन्धी विद्यमान व्यवस्थामा रु. १०० पोर्ट शुल्कलाई अनलिमिटेड प्याकेजको रकममा समावेश गर्ने नयाँ ब्यवस्था यही जेठ १६ गतेदेखि लागु गर्ने भएको छ ।

नेपाल टेलिकमले उपभोक्तालाई सहुलियत दरमा अन्तर्रराष्ट्रिय कल सेवा उपलब्ध गराउने सर्न्दर्भमा थप नयाँ ब्यवस्था गरेको छ । जसअनुसार पिसिसी र पिसिएल सेवामार्फ अन्तर्रराष्ट्रिय कोड १४२४ डायल गरी १२ देशमा सस्तो दरमा अन्तर्रराष्ट्रिय कल गर्न सकिने सुविधालाई अन्य ६ देश जापान, अष्टे्रलिया, बेलायत, रुस, इजरायल र मकाउमा पनि प्रदान गरिएको छ ।

दोस्रो चरणमा आफ्नो कम्प्यूटरलाई फोनकोरुपमा प्रयोग गरी इन्टरनेटमार्फ संसारभर कल गर्न सकिने ‘सेसन इनिसिएसन प्रोटोकल -सिप)’मा आधारित इजी फोन सेवा सञ्चालन गर्ने भएको छ । यो सेवाका लागि ग्राहकले टेलिकमबाट एउटा खाता नम्बर र पार्सवर्ड लिनुपर्ने ब्यवस्था गरिएको छ । यो फोन सेवा केही समयपछि नै सञ्चालनमा ल्याइने जानकारी टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेले दिए ।

पिएसटिएन, जिएसएम र सिडिएमए सेवाबाट भारत, चीन, अमेरिका, क्यानडा, हङकङ, थाइल्याण्ड र सिङ्गापुरमा कल गर्दा रू.४ प्रतिमिनेट शुल्क लाग्छ भने सिप फोनबाट रू.३ मा नै कुरा गर्न सकिने छ । पिएसटिएन, जिएसएम र सिडिएमए सेवाबाट मलेसिया, दक्षिण कोरिया र मकाउमा कुरा गर्दा प्रतिमिनेट रु. ६ लाग्छ भने सिप फोनबाट रु.५ लाग्ने ब्यवस्था गरिएको छ ।

त्यस्तै पिएसटिएन, जिएसएम र सिडिएमए सेवाबाट बङ्गलादेश, पाकिस्तान, इजरायल, ताइवान कल गर्दा रू. ८ लाग्छ भने सिप फोनबाट रु. ६ लाग्ने भएको छ । पिएसटिएन, जिएसएम र सिडिएमए सेवाबाट जापान र रुसमा रु.१० लाग्छ भने सिप फोनबाट रु.८ लाग्ने भएको छ ।

पिएसटिएन, जिएसएम र सिडिएमए सेवाबाट वेलायत, अष्टे्रलिया कल गर्दा रु.१२ लाग्छ भने सिप फोनबाट रु.१० लाग्ने भएको छ । बजेट कल भएका अन्य मुलुकहरुमा भने दुबै सेवाबाट रु.२० लाग्ने पत्रकार अन्तरक्रियामा जनाइएको छ ।

वि.सं. २०६६ असारसम्म नेपाल टेलिकमका कूल ग्राहक आधार बयालिस लाख चवालीस हजार ८३० भएकोमा २०६६ चैत मसान्तसम्ममा ग्राहक आधार नौ लाख २५ हजार ६२१ ले बृद्धि भइ ५१ लाख ७० हजार ४५१ पुगेको सो अवसरमा जानकारी दिइयो ।

पिएसटिएनका ५ लाख ७६ हजार ९८०, जिएसएम मोवाइलका ३७ लाख ३९ हजार ७३३, सिडिएमएका ८ लाख ५३ हजार ७३८, इन्टरनेट सेवाका २ लाख ६ हजार ३३७ ग्राहक २०६६ चैत मसान्तसम्म पुगेको जनाइएको छ ।

कम्पनीले चालु आर्थिकवर्ष२०६६/६७ को नौ महिना कूल राजश्व रू.१९ अर्ब ४८ करोड रहेको छ भने कर पछिको नाफा करिब रू.७ अर्ब ७५ करोड हुने अनुमान गरिएको प्रवन्ध निर्देशक सिंहले जानकारी दिनए ।

रासस

मेघालय तनाव ३ नेपालीभाषीको मृत्यु

Tuesday, May 18th, 2010

सिलिगुडी (भारत), जेष्ठ ५ – पूर्वोत्तर भारतको मेघालय र असम सीमास्थित लांगपी गाउँका नेपालीभाषी र खासीबीच सोमबार राति झडप हुँदा ३ नेपालीभाषीको मृत्यु भएको छ । प्रहरीले भने मृत्युको पुष्टि गरेको छैन ।

मेघालय गोर्खा वेल्फेयर सेन्टरका सदस्य टीआर जोशीका अनुसार मेघालयको वडापानीका ७० वषर्ीय धनपति बाँस्तोलालगायत ३ जनाको मृत्यु भएको हो । अरू दुईको नाम खुलेको छैन ।

उनीहरूको मृत्यु खासीको पिटाइबाट भएको जनाइएको छ । जोशीका अनुसार कोइलाखानीमा काम गर्न पुगेका नेपालीलाई कुटपिट गरेर देश छाड्न चेतावनी दिइएको छ । ‘घर जलाउने, कुट्ने, पिट्ने काम रोकिएको छैन’, जोशीले फोनमा भने, ‘नेपाली अमानवीय दुव्र्यवहार सहन बाध्य छन् ।’

जोशीले यो क्रम जारी रहे धेरै नेपालीभाषीले ज्यान गुमाउने वा पलायन हुन सक्ने जनाए । लांगपीमा गत आइतबार झडप भएको थियो । त्यस क्रममा प्रहरीको गोलीले ७ खासीको मृत्यु भएपछि घटना उग्र भएको हो ।

स्थानीय पत्रकार नन्द देवानका अनुसार झडपपछि नेपालीभाषी त्रस्त छन् । देवानले भने, ‘चाँडो समस्या सुल्झाइएन भने जटिल बन्न सक्छ ।’ उनका अनुसार कोइला खानीका मजदुर खासीको मुख्य निसाना बनेका छन् । ‘यहाँ आएर रोजगारी खोस्यो भन्ने खासीमा रिस छ,’ उनले भने, ‘त्यसैले उनीहरू तारो बनेका छन् ।’

घटनापछि केही मजदुर मारिने डरले स्वदेश र्फकन थालेका छन् । उनका अनुसार धेरै काम छाडेर हिँडिसकेका छन् । यसैबीच छुट्टै राज्य गोर्खाल्यान्डका लागि आन्दोलित गोर्खा जनमुक्ति मोर्चाले घटनाको विरोध गर्दै नेपालीभाषीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ । मोर्चाका महासचिव रोशन गुरुङले गृहमन्त्री पी चिदम्बरमलाई विज्ञप्ति पठाई त्यस्तो आग्रह गरेका हुन् ।

इ-कान्तिपुर डट कम बाट

सडकमा सुकाइएको गहुँको बालामा चिप्लिएर नव दुलहादुलही

Tuesday, May 18th, 2010

भक्तपुर, ४ जेठ

नव दुलहादुलही मन्दिर गएर फर्कने क्रममा सोमबार निकोसेराको मूल सडकमा गहुँमा चिप्लिएर मोटरसाइकल लड्दा घाइते भएका छन्। सडकमा सुकाइएको गहुँको बालामा चिप्लिएर मोटरसाइकल पल्टिएपछि काभ्रे घर भई भक्तपुर बस्ने रोहित थापा र उनकी श्रीमती अम्बिका घाइते भएका थिए। यो त एउटा नमुनामात्रै हो, भक्तपुरका विभिन्न कालोपत्र सडकमा यस्तो दुर्घटना दैनिक हुने गरेको छ। सवारीसाधन गुड्ने सडकमै गहुँ सुकाउने र बत्ताउने गर्नाले मोटरसाइकल दुर्घटना बढेको महानगरीय ट्राफिक परिसर भक्तपुरले जनाएको छ।
यहाँका कृषकले सडकमा गहुँ र बाला सुकाएर यातायातका साधनको टायरले किचिदिने भएपछि चुटिरहने झन्झट नहुने भएकाले सडकभरि गहुँ राख्ने प्रवृत्ति बढेको हो। थिमी, निकोरेसा, व्यासी, कमलविनायक, जगाती, च्यामासिंहलगायत सडकमा गहुँ राख्ने र बत्ताउने गरिएको छ। गहुँ बत्ताउँदा गहुँका टुक्रा सडकभरि हुने गरेको र दुर्घटना हुँदासमेत ट्राफिक प्रहरी प्रशासनले यसलाई रोक्न चासो नदिएको मोटरसाइकल चालकको गुनासो छ।
महानगरीय प्रहरी परिसर, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति छिर्ने नाकैमा रहेको व्यासी सडकमा गहुँ सुकाउँदा र बत्ताउँदा दुर्घटना भएको देख्दा पनि प्रहरी प्रशासनले रोक्न नखोजेको स्थानीयवासीले आरोप लगाए। ट्राफिक प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालय भने यस्तो कार्य रोक्ने काम आफूहरुको नभएको भन्दै पन्छिएका छन्।

दैनिकी डट कम बाट

आलुको भकारी हेरेर छोरी दिने चलन

Tuesday, May 18th, 2010

पर्वत, ४ जेठ

तपाईं पनि छोरीचेलीको विवाह गर्दै हुनुहुन्छ? छोरी दिने घरमा के के सुविधा छन्, अनि सम्पत्ति कति छ भनेर हेर्नुहुन्छ होला। तर पर्वतको भोकसिङ्गमा छोरी दिनेले भने आलुको भकारी हेर्न थालेका छन्। जति धेरै आलु फलाउन सक्यो भोक्सङ्ग वासीले उति नै गतिली बुहारी भित्र्याउने गरेका छन्। सदरमुकाम कुस्माबजारबाट दक्षिणपूर्वमा पर्ने भोकसिङ्गमा कृषकले आलुसँग धान साटेर वर्षभरि भात खाने भएकाले छोरी दिने आलुको भकारी हेर्न थालेका हुन्। भोकसिङ्ग गाविसमा आलुमात्र उत्पादन हुने गर्दछ। ‘हामीले जति धेरै आलु फलायो उति नै गतिली बुहारी भित्रिन्छन् ‘कृषक रुद्रबहादुर क्षत्रीले भने।
जिल्लाको प्रमुख आलु उत्पादन पकेट क्षेत्रका रूपमा रहेको भोकसिङ्गका कृषकले वर्षमा १५ मुरीदेखि ३०० मुरीसम्म आलु फलाउने गर्दछन्। उत्पादन गरेको आलुसँग धानसँगै मकै, कोदो पनि साट्ने गर्दछन्। यतिबेला भोकसिङ्गमा आलु लिन आउनेको ताँती लागेको छ। छिमेकी बागलुङको जैदीबाट धान बोकेर आलु लिन आएका दीनानाथ शर्माले भने–’हामीले रोजीरोजी धान दिन्छौँ, धान हेरेर रोजीरोजी अरूले छोरी दिन्छन् भोकसिङ्गवासीलाई।’
तीन दशक पहिलेसम्म व्यावसायिक रुपमा आलु उत्पादन नहुँदा मकै र कोदो प्रमुख बाली रहेको थियो। कोदो र मकैमात्र फल्ने भएकाले छोरी माग्न जाँदा विवाहका लागि धेरै अभिभावकले छोरी दिन नमान्ने गरेको अनुभव सुनाउँछन् कृषक रुद्रबहादुर क्षत्री।
‘आटो र ढिँडोमात्र खानेहरुलाई के छोरी दिने भनेर रित्तो हात धेरै फर्केका छन्’– कृषक क्षत्री भन्छन् – ‘अहिले आटो र ढिँडो खाने परिवार कमै मात्र छन्।’
भोकसिङ्गमा २०३५ सालपछि व्यावसायिकरूपमा आलु उत्पादन भएपछि ती दिन पूरै फेरिएका छन्। बीउका लागि आलु साट्न आउनेहरुले ल्याएको धान पनि छानेर लिन थालेका छन्। गुडुराजस्ता मीठो भात हुने चामल रोजीरोजी लिने गरेका छन्। ‘नराम्रो धान देखेमा आलु छैन भनेर फर्काउने गरेका छौँ’– अर्का कृषक केशनाथ उपाध्यायले भने।
भोकसिङ्गमा ‘आलु बुढा’ भनेर चिनिने ईन्द्रजित गुरुङले आफ्नो १६ दिनको खेतबारीमा पूरै आलु लगाएका छन्। उनले १६ मुरी त बीउ लगाउँछन् भने २०० मुरीभन्दा बढी आलु उत्पादन गर्दै आएका छन्। उनले आफूले उत्पादन गरेको आलु बिक्री नभएको देख्नु परेको छैन। ‘घरमै धान र नगद बोकेर आउनेहरुले पुर्‍याएरै सकिँदैन’– गुरुङले भने। आलु लिनका लागि पर्वतका २९ गाविस, बागलुङका चार गाविस र गुल्मीबाट समेत कृषक आउने गरेका छन्। जेठको अन्तिम सातादेखि आलु खन्ने र साउनदेखि नै बिक्री हुँदै आएको छ।
भोकसिङ्गमा आलु उत्पादन भएपछि यहाँको बीउ अन्यत्र पठाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान कोषको सहयोगमा स्थानीय संस्था सोर्डेक नेपालले बीज वृद्धि कार्यक्रमसमेत सुरु गरेको छ। यहाँको बीउलाई छिमेकी गाविसहरुमा पुर्‍याई व्यावसायिक बनाउने लक्ष्य लिएका छौँ’– सोर्डेक नेपालका सहसचिब मनबहादुर कुँवरले भन्नुभयो।

दैनिकी डट कम बाट