Archive for November, 2009

रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति

Friday, November 27th, 2009

काठमाडौं, मंसिर १२

कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारमा छँदा माओवादी अध्यक्ष प्रचण्डको भ्रमण शिष्टाचार मात्र नभई सत्तापलटमा केन्द्रित रहेको तथ्य खुलासा भएको छ ।
आज प्रकासित राजधानीका अनुसार सिंगापुर भेटवार्तामा राष्ट्रपति डा. रामवरण यादवलाई सके पदबाट हटाउने नत्र राजनीतिक संकट खडा गरेर राजीनामा गर्न बाध्य बनाउने तथा प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत पदबाट हटाएर नयाँ सहमति गरी सत्ता लिने सहमति कोइराला र प्रचण्डबीच भएको छ ।
सिंगापुरबाट फर्केपछि कोइराला र प्रचण्डले आफ्ना अत्यन्तै निकटस्थहरूसँग गरेको परामर्शका क्रममा चुहिएको सूचनाअनुसार राष्ट्रपति यादव र नेपाल नेतृत्वको सरकारविरुद्ध माओवादीले चाल्ने अभियानमा भने कोइराला मौन बस्ने सहमति भएको छ । उनले माओवादी अभियानको विरोध र र्समर्थन दुवै गर्नेछैनन् । निकटस्थहरूसँग प्रचण्डको वार्तालाप उद्धृत गर्दै स्रोत भन्यो, ‘सरकार र राष्ट्रपतिविरुद्धको हाम्रो अभियानको रूप हेरेर कोइराला मौन बस्ने वा लोकलज्जाका लागि मात्र विरोध गर्ने नीति लिनेछन् ।’
कोइरालाले सिंगापुरमा प्रचण्डलाई प्रधानसेनापति प्रकरणमा राष्ट्रपति कदमको विरोध गर्दा पार्टीका वरिष्ठ नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको साथ नपाउने भनाइ स्पष्ट रूपमा राखेका थिए । सो अभियानमा आफू पार्टीभीत्र एक्लो भए प्रतिकूल अवस्था आउने तथ्य स्वीकार गर्न उनले प्रचण्डसँग आग्रह गरेका थिए ।
विगतमा कोइरालालाई राष्ट्रपति बन्न नदिएर ठूलो भुल गरेको भनाइ पनि भेटवार्तामा आफूले राखेको प्रचण्डले निकटस्थहरूलाई बताएका छन् । ‘मैले गिरिजाबाबुलाई राष्ट्रपति नबनाएर ठूलो गल्ती गरेको बताएँ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब राष्ट्रलाई निकास दिन तपाईं नै राष्ट्रपति हुनुपर्छ भनें, उहाँले स्वीकार गर्नुभएको छ ।’
कोइराला र प्रचण्डबीच राष्ट्रपतिलाई हटाउने प्रक्रियाबारे पनि छलफल भएको थियो । सहमतिअनुसार माओवादीले राष्ट्रपति यादवलाई अपमानित गरी राजीनामा गर्ने वातावरण तयार पार्नेछ । सँगसँगै प्रधानमन्त्री नेपाललाई पद छाड्न बाध्य बनाउने सहमति दुवैबीच भएको छ ।
कोइरालासँगको सहमतिअनुरूप नै माओवादीले आमहडतालसम्मका कार्यक्रम तय गरेको जानकारहरूले बताएका छन् । आन्दोलनमार्फ सरकार र राष्ट्रपतिलाई राजनीतिक संकटमा पारेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सहमति खोज्ने नाउँमा सत्तापलट गर्ने योजना कोइराला र प्रचण्डबीच भएको जानकारहरूले बताएका छन् ।
सिंगापुर वार्तामै कोइराला र प्रचण्डबीच प्रधानमन्त्री नेपालसँग असन्तुष्ट एमाले अध्यक्ष झलनाथ खनाललगायत नेताहरूलाई समेत उपयोग गर्ने सहमति बनेको प्रचण्डले निकटस्थहरूलाई बताएका छन् । कोइरालाले बुधबार खनाललाई फोन गरी भेटका लागि आफ्नो निवास महाराजगन्ज बोलाएका थिए ।
प्रचण्ड निकटस्थहरूका अनुसार कोइरालाले प्रचण्डलाई ‘अबको सरकारको नेतृत्व तपाईंले नै गर्ने हो अगाडि बढ्नुहोला’ भन्ने आश्वासनसमेत दिएका छन् ।
कोइराला-प्रचण्डको सिंगापुर सहमतिको जानकारी पाएपछि राष्ट्रपति यादवसमेत आक्रोशित बनेका छन् । तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई १८ दलको आग्रहमा राष्ट्रपति यादवले पुनर्बहालीको निर्णय लिएका थिए । त्यसमा कांग्रेस सभापति कोइराला र एमाले अध्यक्ष झलनाथ खनालको समेत सहमति थियो ।
कोइरालाको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड सिंगापुर पुगेपछि कोइरालापुत्री तथा उपप्रधानमन्त्री सुजाताको सिंगापुरको मोबाइल नम्बरमा सर्म्पर्क गरी राष्ट्रपति यादवले कोइरालासँग कुराकानी गरेको स्रोतले बताएको छ ।

दैनिकी डट कम बाट

भोलिदेखि सदन चल्ने

Sunday, November 22nd, 2009

७ मंसिर (दैनिकी)

एकीकृत नेकपा माओवादीले बजेट पारित गर्न मंसिर ८,९ र १० गतेसदन चल्न दिने भएको छ । सो पार्टीको संविधानसभा दलको बैठकले दन अवरोध हटाएपनि बजेट पारित गर्न भने सकृय सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले बजेट पारित हुने दिन भने माओवादीले सदन बहिष्कार गर्ने बताउनु भयो ।
उहाँले आजको बैठकमा अध्यक्ष प्रचण्डले बजेट पारित हुन दिनका लागि संसद अवरोध नगर्ने भनेर निर्देशन दिनु भएको बताउनु भयो । उहाँले संघर्षका कार्यक्रम अघि सारिए पनि संवादलाई जारी राख्ने निर्णय भएको छ ।

दैनिकी डट कम बाट

स्याङ्जाका शिवकुमार गुरुङ आँधीखोला लोकतारा घोषित

Sunday, November 22nd, 2009

६ मंसिर, स्याङजा

स्याङजा एलादी १ का शिवकुमार गुरुङ्ले आँधीखोला अवार्ड–२०६६ हात पारेका छन्। सामुदायिक रेडियो आँधीखोला, स्याङ्जाले स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा गायन प्रतिभाको खोजीअन्तर्गत आयोजना गरेको सो कार्यक्रममा गुरुङले ७५ जना प्रतिष्पर्धीलाई पछि पार्दै आज उक्त उपाधि हात पारेका हुन्। प्रतियोगितामा तीनदोबाटे–४ स्याङ्जाकै गीतादेवी ढकालले उपविजेतामा चित्त बुझाइन्। पश्चिमाञ्चल क्षेत्रभित्रका विभिन्न जिल्लाबाट सहभागी प्रतियोगीमध्ये विभिन्न चरणमा गरी आज उत्कृष्ट पाँचमध्ये गायनको आधारमा अवार्ड विजेताको घोषणा गरिएको रेडियोका समाचार संयोजक राधाकृष्ण डुम्रेले जनाए।

दैनिकी डट कम बाट

ओबामाद्वारा नेपालका लागि राजदूत मनोनयन

Tuesday, November 17th, 2009

मंसिर २ (नागरिक)- अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतमा भाइस काउन्सेल र श्रील‌ंकामा राजनीतिक शाखा प्रमुखका रुपमा काम गरिसकेका स्कट एच डेलिसीलाई नेपालका लागि राजदूत मनोनयन गरेका छन्।

अमेरिकी माथिल्लो सदन सिनेटको सुनुवाई समितिले पास गरेपछि उनी यस पदमा नियुक्त हुनेछन्। सुनुवाईको मिति तोकिएको छैन।

अमेरिकी राजदूतावासद्वारा जारी प्रेस विज्ञप्ति अनुसार डेलिसी विदेश विभागमा २८ वर्षदेखि कार्यरत वरिष्ठ अधिकारी हुन्। उनले यसअघि इरिट्रियामा राजदूतको कार्यभार सम्हालेका थिए।

पाकिस्तानमा पनि उनले काम गरेको भनिए पनि पद भने वक्तव्यमा खुलाइएको छैन।

हाल उनी विदेश विभागको मानव संसाधन ब्युरोमा कार्यरत छन्।

नागरिक न्युज डट कम बाट

कृषिराज्यमन्त्री हँसिमजाकको पात्र

Tuesday, November 17th, 2009

काठमाडौं, मंसिर २-

मन्त्रीहरू तयारीबिनै औपचारिक कार्यक्रममा बोल्दा कहिलेकाहीँ हँसीमजाकको पात्र बन्नुपर्छ। यसको पछिल्लो उदाहरण बनेकी छन्, कृषि राज्यमन्त्री करिमा बेगम। कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा राज्यमन्त्री बेगमले ‘तराईमा समेत खेती विस्तार गर्न’ निर्देशन दिएकी थिइन्।

उनले मन्त्रालय मातहतको चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिँदै भनिन्, ‘पहाडमा मात्र होइन, तराईमा पनि कफी खेती विस्तार गर्नुस्।’

मञ्चमा उभिएकी कृषि राज्यमन्त्रीले कफीको भौगोलिक विशेषता नबुझी यस्तो भन्दा दर्शकदिर्घामा रहेका वरिष्ठ कृषि अधिकारी, प्राविधिक तथा अन्य सहभागी लाजले रातो भएका थिए।समुद्री सतहभन्दा आठ सय मिटरमाथिको उचाइमा मात्र कफी खेती हुन्छ। नेपालको तराई क्षेत्र बढीमा २ सय मिटर उचाइमा छ।

कफी दिवसको कार्यक्रममा बोल्नुपर्छ भन्ने पहिल्यै थाहा पाएका राज्यमन्त्रीले कम्तीमा मातहतका अधिकारीसँग सामान्य परामर्शमात्र गरेर आएका भए पनि यस्तो गल्ती हुने थिएन।

मन्त्रीले आफ्नो भनाइ राख्नेबित्तिकै राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको सभाकक्षमा गाइँगुइँ चलेको थियो। मन्त्रीजस्तो पदमा बसेका व्यक्तिले आफ्नै मन्त्रालय सरोकारको विषयमा जथाभावी बोल्नुले छवि नराम्रो हुने सहभागीहरूले टिप्पणी गरे। ‘मन्त्री भन्दैमा सबै कुरा थाहा पाउनुपर्छ भन्ने छैन, तर कम्तिमा थाहा नभएको कुरा कर्मचारीहरूलाई सोध्नु त पर्छ,’ कृषि मन्त्रालयकै एक उच्च अधिकारीले भने।

राष्ट्रिय कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीका अनुसार तराईमा कफीको व्यावसायिक खेती हुन सक्दैन। नेपालमा अरेबिका जातको कफी मात्र उत्पादन हुन्छ। मध्यपहाडी भेगबाहेक अन्त यसको खेती राम्रो हुँदैन। मन्त्री बेगमले भनेजस्तै बढी गर्मी हुने तराईमा कफी रोप्दा उत्पादनै नहुने व्यवसायीहरू बताउँछन्।

‘आठसय मिटरभन्दा माथि र एकहजार ६ सय मिटरसम्मको उचाइमा मात्र कफी राम्रो हुन्छ,’ भण्डारीले भने, ‘गर्मी ठाउँमा यसको खेती हुँदैन भन्ने उदाहरण भारत र श्रीलंकाबाट लिन सकिन्छ।’

‘गर्मीमा रोप्दा दाना थोरै लाग्छ र क्याफिनको मात्रा धेरै हुन्छ,’ भण्डारीले भने। बढी क्याफिन स्वास्थ्यलाई हानिकारक मानिन्छ।

पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई थप्पड हानेर चर्चामा आएकी बेगम झण्डै एक सातापछि सार्वजनिक कार्यक्रममा देखिएकी हुन्। उनी कफी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विशेष अतिथि’ बनेर आएकी थिइन्।

उनले तराईमा कफी खेती विस्तारका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री विजय गच्छदारलाई आग्रहसमेत गरेकी थिइन्। ‘म त क्याबिनेट बैठकमा जान सक्दिनँ, उहाँमार्फत् ध्यानाकर्षण गराउन चाहन्छु,’ गच्छदारप्रति संकेत गर्दै उनले भनिन्।

आफूलाई बिहान उठ्नेबित्तिकै कफी चाहिने पनि उनले बताइन्। ‘मलाई बिहान उठ्नेबित्तिकै बेडमै कफी र चिया चाहिन्छ,’ उनले भनिन्।

बेगमको भनाइले गच्छदारको समेत चित्त बुझेनछ। उनले बेगमको भनाइ सच्याउँदै भने, ‘कफीलाई पश्चिममा मात्र नभएर पूर्वमा पनि विस्तार गर्न कार्यक्रम सुरु गर्नुपर्‍यो।’ विज्ञहरू भने नेपालको पूर्वाञ्चल विकास क्षेत्र कफीभन्दा चियाको निम्ति उपयुक्त ठहरिएको बताउँछन्।

‘बढी पानी पर्ने र बढी चिसो हुने ठाउँमा पनि कफी फस्टाउँदैन,’ भण्डारीले भने, ‘चिसोमा कफीको जरा कुहिन्छ।’

नेपालमा १९९५ सालमा गुल्मीबाट कफी खेती सुरु भएको हो। पश्चिमको गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, काभ्रे, नुवाकोट, रसुवा लगायत जिल्लामा कफी खेती भैरहेको छ। पूर्वाञ्चलका ओखलढुंगा, रामेछाप, इलाममा पनि विस्तार गर्न संभाव्यता अध्ययन भैरहेको छ।

नागरिक न्युज डट कम बाट