कपिलवस्तु, ९ कात्तिक
ढुंगेयुगको बर्बर इतिहास बिर्साउँदै कपिलवस्तुको कथित पञ्चायतले स्थानीय एक युवालाई मृत्युदण्ड दिएको छ । चोरीको आरोपमा युवालाई समात्ने, आफैं अनुसन्धान गर्ने, मृत्युदण्डको फैसला सुनाउने र मृत्युदण्डसमेत दिने कथित पञ्चहरूको बर्बर शासनले युवाको ज्यान गएको छ ।
भारतको सीमावर्ती क्षेत्रको चम्डी- ९ सेमरीनिवासी घनश्याम कुवारालाई पैसा चोरेको आरोपमा स्थानीय ‘पञ्चायत’ले गत शुक्रबार पक्राउ गरेको थियो । बिहीबार उनले तीन हजार रुपैयाँ चोरेको भन्दै स्थानीय रामशरण कुवाराले ‘पञ्चायत’मा उजुरी हालेका थिए ।
रामशरणको उजुरीमाथि विचार गर्न शुक्रबार राति आठ बजे गाउँको ‘पञ्चायत’ बसेको थियो । पञ्चायतले रामशरणको उजुरी र घनश्यामको सफाइ सुनेको थियो । तर, कथित माथिल्लो जातिका यादवहरूको बोलवाला रहेको ‘पञ्चायत’मा दलित कुवाराको पक्षमा बोलिदिने कोही पनि थिएन ।
भरत यादव र कौलेश्वर यादवको नेतृत्वमा बसेको ‘पञ्चायत’मा दुई घन्टाको लामो बहसपछि राति १० बजे पञ्चायतले फैसला गर्यो, ‘रामशरणको तीन हजार रुपैयाँ घनश्यामले चोरेको पक्का भयो, पञ्चायतको कानुनअनुसार चोरलाई मृत्युदण्ड दिनुपर्छ ।’
पञ्चायतको फैसला के आएको थियो, मृत्युदण्डको कार्यान्वयन पनि सुरु भइहाल्यो । घनश्यामलाई मार्न पञ्चहरू कोहीले दाउराले कोहीले ढुंगाले हान्न थाले । सारा ‘पञ्च’ एक्ला घनश्याममाथि खनिए । ज्यान बचाउन घनश्यामले म जरिवाना तिर्छु, तर मलाई बाँच्न दिनुहोस् भन्दै हारगुहार गरे । तर ‘पञ्च’हरूले यो कानुनको आदेश हो भन्दै ढुंगा र लाठीले हानिरहे ।
घनश्याम तबसम्म कुटिए जबसम्म उनको बोली बन्द भएन । अशक्त भएर उनी चुप लागेपछि बल्ल मर्यो भन्दै पञ्चहरूले लामो सास फेरे । घनश्यामको शरीर खेतमा फालेर ‘पञ्चहरू’ घर-घरतिर लागे ।
घनश्याम सानै हुँदा बाबुआमा बितेका थिए, त्यसैले उनको पक्षमा बोलिदिने कोही थिएन । वृद्ध हजुरबाले नातिलाई नमार, छाप्रो -घर) बेचेर जरिवाना तिर्छु भन्दै ‘पञ्च’हरूलाई अनुरोध गरेका थिए । ‘मलाई त नजिक नै पर्न दिएनन्, नातिलाई बचाउँछु भन्दा हुत्याएर मलाई पनि फाले,’ घनश्यामका हजुरबुबाले भने ।
मृत्युदण्ड सफल भयो भन्दै ‘पञ्चहरू’ हिँडेपछि हजुरबुबा नातिलाई सुमसुम्याउन खेतकोे तल्लो गरामा झरेका थिए । सास फेरिरहेको देखेपछि नातिलाई बोकेर हजुरबुबा घर आएका थिए ।
तर, विवश दलित परिवारले घाइते घनश्यामलाई अस्पताल पनि लग्न सकेन । जे भयो-भयो, अब यसलाई उपचार गराएर बचाऊँ भन्ने कुनै सचेत मान्छे गाउँमा प्रकट भएन । त्यसैले आइतबार मध्याह्न घनश्यामको मृत्यु भयो ।
चोरीको आरोप लगाउने, फैसला गर्ने र मृत्युदण्ड दिने ‘पञ्चहरू’विरुद्ध मृतक घनश्यामका काका शालिकरामले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका छन् । तर, प्रहरी टोली गाउँ पुग्दा सारा ‘पञ्चहरू’ सीमा काटेर भारत पसिसकेका थिए ।
‘आरोपीहरू गाउँ छाडेर भागिसकेका रहेछन्,’ एसपी विक्रमसिंह थापाले नयाँ पत्रिकासित भने, ‘गाउँमा अहिले महिला र केटाकेटी मात्रै छन् ।’ आरोपीहरूलाई नभेटेपछि प्रहरी शव बोकेर ताैलिहवा फर्किएको छ ।
एसपी थापाका अनुसार कुटपिटबाटै घनश्यामको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘शरीरभरि नीलडाम छन्, मृत्यु कुटपिटबाटै भएको देखिन्छ, तर पोस्टमार्टम रिपोर्ट आएपछि मात्र अन्तिम जानकारी दिन सकिन्छ,’ उनले भने ।
उनले कुटपिटको नेतृत्व गर्नेहरू -भरत र कौलेश्वर यादव) को पहिचान भएकाले उनीहरूलाई प्रहरीले पक्राउ गर्ने दाबी पनि गरे । ‘मुख्य दोषीहरूको पहिचान भइसकेको छ, उनीहरूलाई पक्राउ गर्न प्रहरी प्रतिबद्ध छ,’ उनले भने ।
नयाँ पत्रीका दैनिक बाट



