Archive for the ‘स्याङ्जा वरीपरिबाट’ Category

स्याङ्जाको कफी जर्मनी, जापान र अमेरिका निकासी

Thursday, June 24th, 2010

स्याङ्जा, १० असार

स्याङ्जामा उत्पादीत कफी जर्मनी, जापान र अमेरिका निकासी हुने भएको छ। रासानिक मल विना स्थानिय श्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकोले नेपालबाट वर्षिनी कफी निर्यात बृद्धि हुदै गएको छ। चालु वर्षदेखि जिल्ला कफी व्यवसायी संघको पहलमा गठित जिल्ला कफी सहकारी मार्फत पहिलो पटक त्यी देशमा कफी निर्यात गर्न लागेको हो। विगतका वर्षमा यहाँ उत्पादीत कफी अमेरिका, जापान, कोरिया र हल्याण्डमा निर्यात हुदै आएको थियो।
जिल्लामा ८२ कफी उत्पादक समूह र ७ वटा कफी उत्पादक सहकारी सस्था लिमिटेड रहेका छन्। समूह र सहकारी संस्था मार्फत उत्पादीत कफी जिल्ला कफी सहकारी मार्फत पहिलो पटक निर्यात गर्न थालिएको हो। यसअघि हाइल्याण्ड कफी कम्पनी काठमाडौं, एभरेष्ट कफी मिल पाँचखाल काभ्रे, प्लानटेक कफी कम्पनी काठमाडौं मार्फत यहाँका कफी विदेश निर्यात हुदै आएको थियो।
चालु वर्ष स्याङ्जाबाट ड्राई पार्चमेन्ट कफी ५५ टन र ड्राई चेरी कफी ५ टन विदेश निर्यात हुने भएको छ। जिल्ला कफी व्यवसायी समितिको पहलमा ड्राई पार्चमेन्ट प्रतिकिलो १ सय ५५ रुपयाँ निधारण गरिएको छ भने ड्राई चेरीको लागि ४० रुपयाँ प्रतिकिलो तय गरिएको छ।
जिल्लाबाट २०६६ मा ड्राई पार्चमेन्ट ४५ टन र ड्राई चेरी ५ टन कफी विदेश निर्यात भएको थियो। जिल्लामा हालसम्म करिव ४ हजार ५ सय परिवार कफी खेतीमा संलग्न रहेको जिल्ला कफी व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले बताए। उनका अनुसार, संघमा हालसम्म २ हजार ५ सय परिवार प्रत्यक्ष रुपमा आवद्ध भएका छन्।
जिल्लाका २ नगरपालिका र ६० गाउं विकास समिति मध्ये पुतलीबजार र वालिङ् नगरपालिका सहित २९ गाउं विकास समितिमा स्थानिय कृषकहरुले व्यवसायीक रुपमै कफी खेती गर्दै आएका छन्। स्याङ्जामा २ सय १५ हेक्टर जमिनमा कफी खेती गरिएको छ।
जिल्लामा कुल उत्पादीत कफी मध्ये ३० प्रतिशत आन्तरिक खपत र ७० प्रतिशत विदेश निर्यात हुदै आएको छ। गत वर्षको तुलनामा यस वर्ष कफी खेती र उत्पादनमा करिव २० प्रतिशतले बढेको छ। हालसम्म जिल्लामा करिव ४ लाख कफी विरुवा रोपण गरिएको छ।
उत्पादनमा पनि सहज र बजारको सुनिश्चित भएपछि कृषकहरु कफी खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाएका छन्। कफी खेतीबाट जिल्लाका सानादेखि ठूला कृषकहरु मनग्य आम्दानी गर्न समेत सफल भएका छन्।
कफी खेतीबाट वर्षमा मात्रै करिव ५ लाखको हाराहारीमा आम्दानी गर्न आफू सफल भएको पुतलीबजार नगरपालिका– १३, मायाटारीका बोधराज अर्यालले बताए। कृषक अर्यालले लामो समयदेखि कफी, सुन्तला खेती गर्दै आएका छन्। व्यक्तिगत रुपमा अर्यालले ५० रोपनी जग्गामा कफी र सुन्तला खेती गरेका छन्।
जिल्लाका कृषकले यस वर्ष कफी विक्रीबाट करिव १ करोड ५० लाख आम्दानी गर्ने छन्। गत वर्षमात्रै कृषकहरुले करिव १ करोड आम्दानी गर्न सफल भएका थिए। जिल्लामा हाल २८ वटा पलपिङ् केन्द्र रहेका छन्।
बढि मात्रामा कफी उत्पादन गर्ने विभिन्न जिल्ला मध्ये ललितपुरपछि स्याङ्जालाई लिने गरिएको छ। विशेष गरि ठूला ठूला रुख भएका क्षेत्रमा समेत कफीको विरुवा लगाउन सकिने भएकाले कफीलाई पाउना खेतीका रुपमा लिईने गरिएको छ। जिल्लामा करिव २ सय सुन्तलाको बगैचा रहेका छन्। सुन्तलाका हरेक बगैचामा कफी खेती गरिएको छ।
स्याङ्जामा करिव २ वर्ष भित्रमा करिव १० करोडको कफी निर्यात गर्न सफल हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत चेतनाथ अधिकारीले बताए। अधिकारीका अनुसार स्याङ्जाको भौगोलिक बनावट र वातावरण कफी खेतीको लागि अति उत्तम रहेको छ।
विगत एक दर्शक देखि स्याङ्जामा कफी खेतीबाट यहाँका कृषकहरु मनग्य आम्दानी गर्न सफल भएका छन्। जिल्लामा व्यवसायीक रुपमा कफी खेती गर्न थालेपछि नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको साझेदारीमा लागु भएको कार्यक्रम एक गाउँ एक उत्पादनका अर्न्तगत स्याङ्जा कफी खेतीमा छनौट भएको छ।
एक गाउँ एक उत्पादन कार्यक्रम जिल्लाको बहाकोट र अर्जुनचौपारी गाउँ विकास समितिमा परियोजना संचालन भएको छ। त्यस क्षेत्रमा मात्रै ३ वर्षभित्रमा १ हजार रोपनी जग्गामा करिव ५ लाख कफीका विरुवा रोपण गर्ने लक्ष्य राखिएको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्सालले बताए। उनका अनुसार बजेटको थप व्यवस्था भएमा कफीमा कृषकहरुको आवद्धता बढने छ।
स्याङ्जामा छनौट गरिएको कफि खेतिबाट जिल्लाका कृषकहरु मनग्य आम्दानी गर्न थालेका छन्। बैदेशिक रोजगारमा यहा“का युवाहरु विदेश तर्फ भौतारिए पनि मेहनत गरेमा यहि माटोमा समेत लाखौ आम्दानी गर्न सफल हुन्छ भन्ने यहा“का कृषकहरुले दजनौ उदाहरण समेत प्रस्तुत गरेका छन्।

दैनिकी डट कम बाट

स्याङ्जाका कृषकहरु मौरीपालन तर्फ आकषिर्त

Thursday, June 24th, 2010

स्याङ्जा, ९ असार

महको माग बढेपछि यहाँका कृषक मौरीपालनमा आकषिर्त भएका छन् । उपभोत्ताले खोज्दा मह नपाउने कारण बढि पैसा तिरेर किन्ने वातावरण सिर्जना भएपछि कृषक व्यवसायिक मौरी पालनमा लाग्न थालेका हुन् ।
मौरीपालन सजिलो पेशा भएको र माग बढि भएको कारण धेरैले मौरी पाल्न थालेको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । उनले भने, यो सजिलै फल पाईने पेशा भएर कृषक आर्कषिर्त बनेका छन् । मौरी पाल्नको लागी कम लगानी, जग्गा नचाहिने र असिना पानिले नविगार्ने हु“दा यसलाई सुरक्षित पेशा मानिन्छ ।
जिल्लाका विभिन्न भागमा समयमै पैयु फुलेको र फलफुल पनि प्रशस्त भएको कारण मौरीलाई चरन पुगेको छ । जिल्लामै एउटा घरमा एक वर्षा १२ किलोसम्म मह काढेको स्थानियवासी रुकुम पौडेलले बताए । उनले भने, यस पटक मह राम्रो भएको छ ।
मह व्यवसाय गर्न सके बजारको खाँचो नरहेको पौडेलले दावी छ । घरमै ग्राहक आउन थालेपछि अहिले जिल्लाका ६० वटै गाविस र २ नगरपालिकामा मौरी पालन गर्न थालिएको छ । जिल्लाको ठुलाडिहि, खिलुङ-देउराली, पौवेगौडे, दहथुम लगायतका करिव १ दर्जन गाविसमा व्यवसायीक रुपमा पौरीपालन गर्न थालिएको छ ।
मह पौष्टिक भएको कारण विदेश रहेका आफन्तलाई पठाउने बढि खोज्ने गरेको दिपक गुरुङले बताए । शुद्ध महको लागी आफुले पैसामा कञ्जुस नगर्ने गुरुङले बताए । बजारमा मह खोज्ना साथ पाईन्छ तर उनले भने, शुद्ध मह पाउनै गाह्रो छ ।
धार्मिक कार्यमा मह अनिवार्य भएको कारण महको माग दिनप्रतिदिन बढ्दो छ । महबाट आयआर्जन राम्रो हुने देखेपछि अहिले जिल्ला कृषि विकास कार्यलयले बाषिर्क ३ सयका दरले मौरी सहितको घार वितरण गर्दै आएको छ । कार्यालले दिएको र कृषकले किनेर ल्याएको पौरीको घार जिल्लामा करिव १० हजारको हाराहारीमा रहेको कृषि कार्यालले जनायो ।
मौरी पालन गर्न बढि लगानी गर्न नपर्ने कारण महिला यस पेशा बढि आकषिर्त छन् । महिलालाई सक्षम बनाउनको लागी सहारा समुहले पनि २० वटा गाविसका महिलालाई ८० घार मौरी सहित दिएको छ ।
घारबाट ६ सय जना प्रत्यक्ष लाभान्वित भएको साहारा समुहकी महिला लघुउद्यम तथा शसक्तिकरण कार्यक्रमकी संयोजक गिरीजा काफ्लेले बताईन । उनले भनिन, गा“उका महिलाका लागी सामाजिक र आर्थिक सक्षमताको लागी हामीले मौरी पालन गर्न सहयोग गरेका हौ । सहारा समुहले घार दिएका महिलालाई कृषि विकास कार्यलयले मौरीपालन तालिम दिएको थियो ।

युवा स्वरोजगारका लागि रकम वितरण

Thursday, June 24th, 2010

स्याङ्जा, ९ असार

नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम अर्न्तगत आर्थिक वर्ष २०६६/०६७ मा युवा स्वरोजगारका लागि प्राप्त रकम जिल्ला पशु सेवा कार्यालय स्याङ्जाले एक कार्यक्रमका विचमा आज रकम वितरण गरेको छ। जिल्ला पशुसेवा कार्यालय मातहतमा रहेका सहकारी समूहको सिफारिस तथा छनौटका आधारमा निम्न आय र बेरोजगार भएका युवा युवतीहरुलाई रकम वितरण गरिएको हो। यसरी रकम प्राप्त गर्नेमा २१ महिला र ३३ पुरुष सहित कुल ५४ जना रहेका छन्। युवा स्वरोजगार कार्यक्रममा रकम प्राप्त गर्नेमा भेडापालनमा १ जनालाई २५ हजार, गाई भैसीपालनमा १७ जनालाई २४ हजार, मासु व्यवसायमा १ जना २२ हजार र बंगुर, कुखुरा तथा बाख्रा पालनमा ३५ जनालाई जनहि १९ हजार प्रदान गरिएको छ।
कार्यक्रम अनुसार पहिलो चरणमा कुल बजेटको ७५ प्रतिशत अर्थात ८ लाख ४० हजार वितरण गरिएको छ। कामका आधारमा २ लाख ८० हजारले हुन आउने बाँकी २५ प्रतिशत रकम केहिदिन भित्रमा वितरण गरिने जिल्ला पशुसेवा कार्यालयका मोतिप्रसाद लामिछानेले बताए।
रकम वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वली, पशुसेवा कार्यालयका प्रमुख दिपकुमार सिंह, गैरसरकारी महासंघका अध्यक्ष रामचन्द्र गौतम, डा. कल्याण श्रेष्ठ लगाएतका वक्तहरुले बोलेका थिए।

स्याङ्जाको साँखरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा

Tuesday, June 22nd, 2010

स्याङ्जा, ८ असार

स्याङ्जाको दक्षिण भेग तनहुं र नवलपरासी जिल्लाको सिमानामा रहेको साँखर गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरीएको छ। गाउँलाई दिशामुक्त भएपछि स्थानिय बासिन्दामा खुसियाली छाएको छ। जिल्ला विकास समिति स्याङ्जाको अयोजना तथा पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाइ तथा स्वाथ्य कार्यक्रमको सहयोगमा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान अर्न्तगत साँखर गाविसलाई जिल्लाको दोस्रो खुल्ला दिशा मुक्त गाविस घोषणा गरीएको हो। यस सेखाम गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको थियो।
खुल्ला दिशामुक्त गाउँ बिकास समिती घोषण गर्न साँखरमा ७ सय ८३ कच्ची र १ सय ८२ पक्की गरी १ हजार ५० चर्पी निर्माण गरिएका छ। अभियान पुर्व साँखरमा ८५ चर्पी रहेको गाउँ बिकास समिती सचिब राजुप्रसाद मरासिनी बताउनुभयो। स्थानियवासीले आफ्नै लगानीमा चर्पी बनाएका हुन्।
खुला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि यस वर्ष स्याङ्जाका ७ गाउँ बिकास समिती छनौट गरिएको छ। जिल्लाका एकैसाथ छनौट गरी कार्यक्रम लागु गरिएको गाविसमा चित्रेभज्याङ्, सेखाम, क्याक्मी, आलमदेवी, चण्डिभज्याङ्, केवरे र साँखर रहेका छन्। हाल दुई गाविसलाई दिशा मुक्त क्षेत्र घोषण गरिएपनि असार मसान्त भित्रमा बाँकी ५ गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिने ग्रामिण सरसफाई कार्यक्रमले लक्ष्य लिएको छ भने २०१७ साल भित्र स्याङ्जा जिल्लालाई खुल्ला दिशा मुक्त गर्ने भएको छ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा स्थानीय राजनितिक दल, कर्मचारी तथा सरोकारवालाहरुले स्याङ्जालाई नै खुल्ला दिसामुक्त क्षेत्र बनाई अधिराज्यमै यस जिल्लाका गाउलाई सफा राख्ने कसम खाएका छन्।
कार्यक्रममा स्थानिय विकास अधिकारी दीर्घनारायण पौडेल तथा परियोजनाका प्रतिनिधिहरुको सक्रियतामा खुला दिशामुक्त क्षेत्र घोषणा गरीएको हो। कार्यक्रममा परियोजनाका तर्फबाट विशेषज्ञ अमृत राई, विभिन्न राजनितिक दलका प्रनिधिहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो। गाउँ विकास समितिका सचिव राजुप्रसाद मरासिनीको अध्यक्षतामा साँखर ८ मा भएको कार्यक्रम राधादामोदर उच्च माविको प्राङ्गणमा सम्पन्न भएको थियो।

दैनिकी डट कम बाट

स्याङ्जामा कृषि पर्यटनको प्रबर्दनमा जोड

Thursday, June 10th, 2010

स्याङ्जा २६ जेष्ठ
स्याङ्जामा हाल आएर कृषि पर्यटनको प्रबर्दनमा जोड दिन थालिएको छ । अहिले जगत्भन्ज्याङ, सिर्सिकोट, माझकोट, जगत्रादेवी गा वि स हरुमा यस्ले लोकप्रियता पाइसकेको छ । “हामीले कृषि अनुसन्धान, कृषि योग्य जमिनको खोजी तथा कृषि प्रदसनीमा जोड दिएका छौ । साथै ‘होम स्टे’को अबधारणा लाई पनि अगाडि बढाएका छौं । ” पित्लेक ग्रामीण कृषि-पर्यटन बिकास समितिका अध्यक्ष गोविन्द गुरुङ ले भने ।

आजभोलि ति गा वि स हरुमा उल्लेख्य मात्रामा पर्यटकहरु बढीरहेको जिल्ला कृषि बिकास कार्यालयका अधिक्रित चेतनाथ अधिकारी बताउछन् । साथै जगतभन्ज्याङ्मा हाल सम्म काठमाडौं सहितका २५ जिल्लाका प्रतिनिधिहरुले अबलोकन गरिसकेको र उनिहरु प्रभाबित भएको पनि उनले जानकारी दिए ।

उता सिर्सिकोटमा घुमाउरो घर तथा प्रचिन सामानहरु पनि प्रदर्सनीमा राखिएको छ। जिल्ला पर्यटन बिकास समितिका सह-अध्यक्ष अनन्त श्रेष्ठ भन्छन् “ती गा वि स हरु क्ग्रिशी पर्यत्टनको लागि नमुना बन्न सक्छन् किनकी तिनिहरु कृषि उत्पादनमा अगाडि छन् । ” जगतभन्ज्याङ गा वि स मा पर्ने पित्लेक गाउँमा हाल आएर सोलार्को प्रयोग गरी तरकारी तथा कफी खेतिमा आधुनिकता थपिएको छ ।

प्रशिक्षक रमेश गुरुङका अनुसार हाल सम्म ४० भन्दा बढी गाउँहरुमा भान्सा ब्याबस्थापन, सेवा ब्याबस्थापन तथा ‘होम स्टे ” ब्याबस्थापनको सुरुवात भईसकेको छ ।